
काठमाडौं । काठमाडौंको बुद्धनगरमा शनिबार बिहान आत्मदाह को प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ ।
शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरको भान्सा कोठामा शरीरमा आगो लगाएका राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । आगोले जलेको अवस्थामा प्रहरीले उनलाई तत्काल उद्धार गरी अस्पताल पुर्याएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचार भइरहेका बेला उनको निधन भएको हो । राउतको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
श्रीमती र छोरासँग बुद्धनगरमा बस्दै आएका राउतले आत्मदाह को प्रयास गर्नुको कारण भने अझै खुल्न सकेको छैन । प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको जनाएको छ ।



















