दुई दिन भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०६:१६

काठमाडौं । आइतबार र साेाबार देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेकाे छ ।

बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आह्वान गरेको हाे ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असार २८ र २९ गते विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा धेरै भारी वर्षा हुनसक्ने देखिएकाले प्राधिकरणले यस्तो आग्रह गरेको हो।

मौसम विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना छ।

यसका साथै मधेश प्रदेशसहित तराईका क्षेत्रमा समेत एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने चेतावनी दिइएको छ।

यसरी हुने लगातारको वर्षाका कारण अचानक बाढी, पहिरो, भूक्षय र गेग्रान बहाव आउन सक्ने तथा तराई एवं शहरी क्षेत्रमा डुबानको समस्या निम्तिन सक्ने प्राधिकरणले जनाएको छ।

जोखिमलाई मध्यनजर गर्दै प्राधिकरणले खोला, खहरे तथा नदी आसपासका क्षेत्रमा यात्रा गर्ने सर्वसाधारण, पहिरोको जोखिम भएका स्थानमा बसोबास गर्ने नागरिक र नदी किनारका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

सम्भावित प्राकृतिक विपद्को सामना र व्यवस्थापनका लागि तीनवटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना), स्थानीय तह, स्वयंसेवक तथा सरोकारवाला निकायहरूलाई पूर्ण रूपमा तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

यसैगरी, वर्षाका कारण अवरुद्ध हुन सक्ने राजमार्ग तथा जोखिमयुक्त सडकहरू तत्काल सञ्चालन गर्नका लागि डोजर, एक्साभेटर र लोडरलगायतका आवश्यक उपकरणहरू रणनीतिक स्थानमा तयारी अवस्थामा राख्न भनिएको छ।

विपद् व्यवस्थापनमा कार्यरत साझेदार संस्थाहरूलाई जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर सम्पर्कमा रहन समेत प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले सर्वसाधारणको सहजताका लागि आपत्कालीन नम्बरहरू पनि सार्वजनिक गरेको छ।

वर्षा तथा बाढी सम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बलको १११४ नम्बर सुरक्षित राख्न र आवश्यक परेको खण्डमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.