माजिद अन्सारीको रिहाई माग गर्दै मोरङमा धर्ना दिने २६ अभियन्ता पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २८, आइतबार ०६:४८

विराटनगर । जेनजी अभियन्ता माजिद अन्सारीको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय मोरङको गेट अगाडि धर्ना दिन पुगेका २६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार साँझ प्रहरी कार्यालयको मुख्य प्रवेशद्वारमा धर्ना दिने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रका अनुसार, कार्यालयको मुख्य गेटमा आवागमन नै प्रभावित हुने गरी प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरू सबै जेनजी समूहका अभियन्ताहरू रहेका छन् ।

काठमाडौँको कीर्तिपुरस्थित सुन्दरीघाट होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुम्बासीहरूको अवस्था बुझ्न गएका बेला माजिद अन्सारी, सरिश्मा थापा र नहेन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये थापा र खड्का रिहा भइसकेका छन् भने अन्सारी अझै प्रहरी नियन्त्रणमै छन् ।
प्रहरीको कुटपिटबाट घाइते भएका अन्सारीको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

अन्सारीमाथि प्रहरीले दुर्व्यवहार गरेको र उनलाई बिनासर्त रिहा गर्नुपर्ने माग गर्दै अभियन्ताहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.