
काठमाडौं ।भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै सचेत गराउने कारबाही गरेको हो ।
विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।
सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९ संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको हाे ।
विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।

























