तराईतर्फ सरेको मनसुनी रेखाले बढायो वर्षा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार ०६:४२

काठमाडौं । मनसुनी वायु सक्रिय रहँदा मनसुनको न्यून चापीय रेखा औसत अवस्थाभन्दा माथि सरेर नेपालको तराई क्षेत्र नजिक पुगेको छ । यसका कारण देशभर मौसम बदली भएको छ र विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी तथा कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि पानी परेको छ । सोमबार कोशी, मधेश बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहने तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका केही स्थानमा पनि यस्तै अवस्था रहनेछ ।

पहाडी तथा तराई क्षेत्रतर्फ कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा मधेश, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ । मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । साथै, मधेश, कोशी, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.