
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गैरकानूनी रूपमा नियन्त्रणमा लिएर हिरासतमा यातना दिएको गुनासाे गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा उपचाररत अन्सारीले आफूमाथि निर्घात कुटपिट भएकाे भन्दै जीवन रक्षा र स्वतन्त्रता सुनिश्चित गरिदिन आग्रह गरेका हुन् ।
शनिबार कीर्तिपुरस्थित सुकुम्वासी होल्डिङ सेन्टरमा बाढी पसेपछि अनुगमनका लागि पुगेका अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, पक्राउ गर्दा कुनै पुर्जी नदिइएको र विना कारण कुटपिट गरिएको उनको दाबी छ ।
‘मलाई किन पक्राउ गरियो भन्ने जानकारी समेत दिइएको छैन । प्रहरीको कुटपिटबाट घाइते भएर अस्पतालमा उपचार गराइरहँदा पनि मलाई प्रहरी घेराभित्र राखिएको छ,’ अन्सारीले भनेका छन्, ‘म गृहमन्त्री र प्रहरी महानिरीक्षकसँग प्रश्न गर्न चाहन्छु मेरो गल्ती के हो र कुन कानून अन्तर्गत मलाई यातना दिइयो ?’
अन्सारीले संघीय संसद्को मानव अधिकार समिति र नागरिक समाजलाई यो घटनाको निष्पक्ष छानबिनका लागि दबाब दिन आग्रह गरेका छन् ।

























