
काठमाडौं । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सुरु गरेको छ । विभागका अनुसार नयाँ प्रक्रियाबाट छापिएका राहदानी असार २९ गते सोमबारदेखि सेवाग्राहीलाई वितरण गर्न थालिएको हो ।
विभागले त्रिपुरेश्वरस्थित आफ्नै कार्यालयबाट राहदानी छपाइ गरी सेवा प्रवाह सुरु गरेको छ । राहदानी लिन, नवीकरण गर्न वा अन्य आवश्यकताका लागि सेवाग्राहीले आफ्नो स्थायी बसोबास रहेको जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगमार्फत पूर्ववत् रूपमा सेवा लिन सक्ने व्यवस्था यथावत् रहेको विभागले स्पष्ट पारेको छ ।
विभागले नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्न सक्ने जनाएको छ । यस अवधिमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि राहदानी सेवा नियमित, सहज र अविच्छिन्न रूपमा सञ्चालन हुने विश्वास विभागले व्यक्त गरेको छ ।


























