
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालले ‘अतिक्रमण हटाउने’ भन्दै चलाएको डोजरले दशकौँदेखि मानवीय सेवामा समर्पित दुई ठूला संस्था नेपाल रेडक्रस सोसाइटी(ब्लड बैंक) र नेपाल क्षयरोग निवारण संस्थाको सेवा प्रभावित हुने देखिएकाे छ । अस्पताल प्रशासनले आफ्नाे जग्गा खाली गराउँदा क्षयराेग र ब्लड बैंकबाट सेवा लिइरहेका बिरामी र रगतको आवश्यकता पर्ने सर्वसाधारणलाई समस्या पर्ने देखिएकाे हाे । साेमबार ति संस्थाले भाडामा लगाएका सटर अस्पतालले भत्काएकाे छ । संस्थालाई पनि भवन खाली गर्न भनेकाे छ ।
वि.सं. २०१६ सालमा झाडी फाँडेर स्थापना भएको क्षयरोग निवारण संस्था अहिले सबैभन्दा ठूलो मारमा परेको छ । संस्थाको भवनमा हाल १९ जना क्षयरोगीहरू उपचाररत छन्, जसमा ८ जना त कैदीबन्दी छन् ।
कडा खालको औषधि सेवन गरिरहेका र पूर्ण रेखदेख चाहिने यी बिरामीलाई कहाँ लैजाने भन्ने कुनै निश्चित छैन । ‘क्षयरोग निवारण पनि सरकारकै कार्यक्रम हो, तर सरकारकै अर्को निकायले विकल्पबिना डोजर चलाउँदा हामी स्तब्ध छौँ,’संस्थाका कार्यवाहक अध्यक्ष भैरव क्षेत्री भन्छन्, ‘हामी जाने ठाउँ छैन, राज्यले व्यवस्थापन नगरी हटाउनु भनेको बिरामीलाई मर्न छोड्नु जस्तै हो ।’ अस्पतालले साेमबार सटरमा मात्रै डाेजर चलाएकाे छ । संस्थाकाे भवन भत्काए जटिल परिस्थिति आउने उनले बताए ।
वि.सं. २०४२ सालको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम स्थापित रेडक्रसको ब्लड बैंक पनि विस्थापित हुने अवस्थामा पुगेको छ । कोशी अस्पतालमा उपचारका लागि आउने हजारौँ बिरामीलाई तत्काल रगत उपलब्ध गराउँदै आएको यो केन्द्र अन्यन्त्र सार्न भनिएकाे छ । अन्यत्र सारेकाे अवस्थामा काेशी अस्पतालमा आउने विरामीलाई नै रगतकाे खाेजीका लागि सास्ती हुनेछ ।

रेडक्रस मोरङका अध्यक्ष सुकदेव मण्डलले सरकारको यो कदमलाई ‘निर्मम र गैरजिम्मेवार’ संज्ञा दिएका छन् । उनका अनुसार दाताको सहयोगमा बनेको संरचना भत्काउनु र सेवा रोक्नु मानवीय संवेदनाविहीन कार्य हो । उनले ब्लड बैंक सार्नका लागि बजेट पनि नभएकाे बताए ।
यता कोशी अस्पताल प्रशासनले भने अस्पतालको गुरुयोजना कार्यान्वयन गर्न जग्गा खाली गराउनुको विकल्प नभएको दाबी गरेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाका अनुसार अतिक्रमित संरचना र भाडाका सटर हटाउने अभियान सुरु भइसकेको छ । ‘पहिलो चरणमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाइएका सटरहरू भत्काएका हौँ,’ डा. झाले भने, ‘संस्थाहरूलाई अन्यत्र सर्न आग्रह गरिसकिएको छ । क्षयरोग निवारण संस्था उपयुक्त विकल्प खोजेर सर्नुपर्छ र रेडक्रसको त आफ्नै भवन पनि छ ।’

























