
काठमाडौं । सरकारले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हटाएर ‘आउटसोर्सिङ’ (बाह्य स्रोत) मार्फत नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेपछि कर्मचारीहरू आन्दोलित भएका छन् । उक्त निर्णयको विरोधमा १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयको मुख्य प्रवेशद्वार अगाडि धर्ना दिएका हुन् ।
सरकारले पुराना करार कर्मचारी विस्थापित गरी निजी कम्पनीमार्फत कर्मचारी आपूर्ति गर्ने योजना अघि सारेको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । कर्मचारीहरूले सरकारको यो कदमले लामो समयदेखि सेवा गरिरहेका हजारौँ कर्मचारीको रोजगारी खोसिने र भविष्य असुरक्षित हुने बताएका छन् ।
धर्नामा सहभागी कर्मचारीहरूले आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय तत्काल फिर्ता लिन र आफूहरूको सेवाको सुनिश्चितता गर्न माग गरेका छन् । ‘वर्षौंदेखि सेवा गरिरहेका कर्मचारीलाई हटाएर आउटसोर्सिङका नाममा नयाँ भर्ना गर्नु अन्यायपूर्ण छ,’ आन्दोलनरत एक कर्मचारीले भने ।
१८ वटै मन्त्रालयका कर्मचारीहरूले सामूहिक रूपमा दिएको यो धर्नाका कारण सिंहदरबारभित्रको प्रशासनिक कार्य र आवतजावतमा समेत प्रभाव परेको थियो । आन्दोलनरत पक्षले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । सरकारले यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन ।

























