अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहितका नेताहरू पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १०:५९
अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहितका नेताहरू पक्राउ

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहितका नेताहरूलाई प्रहरीले सिंहदरबार अगाडिबाट पक्राउ गरेको छ ।

गत सोमबार काठमाडौंका विभिन्न मिडिया हाउसको गेट र सडकमा देखिएको शंकास्पद पार्किङको विरोधमा बुधबार बिहान सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अनेरास्ववियुका नेता गोपाल नेपालका अनुसार शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका अध्यक्ष धामीसहित ७ जना नेताहरूलाई प्रहरीले पक्राउ गरेको छ । उनका अनुसार प्रहरीले अनेरास्ववियु केन्द्रीय अध्यक्ष दीपक धामी, निर्वाचन आयोग अध्यक्ष, जितप्रसाद सिटौला, सचिवालय सदस्य विशाल खड्का, उपत्यका विशेष बागमती प्रदेश संयोजक रवि मगर,  केन्द्रीय सदस्य विष्णु उपरकोटी, कानुन राष्ट्रिय कमिटी सचिव सुदीप थापा र विद्यार्थी नेता सिरिस बुढालाई पक्राउ गरेको छ ।

सोमबार मिडिया हाउसहरूलाई लक्षित गरी गरिएको ‘शंकास्पद पार्किङ’ ले प्रेस स्वतन्त्रता र सुरक्षामा चुनौती थपेको भन्दै अनेरास्ववियुले सांकेतिक रूपमा सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरी विरोध जनाएको थियो । पक्राउ परेका नेताहरूलाई हाल प्रहरी वृत्तमा राखिएको जानकारी दिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.