विश्वकपको फाइनलमा अनुभव र युवा जोशबीचको प्रतिस्पर्धा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार ०७:३०

अमेरिका । अनुभवी कप्तान लियोनल मेसीको जादुमय प्रदर्शनसँगै अर्जेन्टिना विजयी बनेपछि फिफा विश्वकप २०२६ को फाइनल समीकरण पूरा भएको छ ।

साबिक विजेता अर्जेन्टिनाले अब फाइनलमा स्पेनको सामना गर्नेछ । विश्वकप उपाधिका लागि मेसीको अर्जेन्टिनाले युवा स्टार लामिन यमलको स्पेनसँग प्रतिस्पर्धा गर्ने भएको हो । अर्थात्, विश्वकपको फाइनलमा मेसी र यमल आमनेसामने हुँदैछन् ।

३९ वर्षीय मेसीले अर्को इतिहास लेख्नेछन् वा १९ वर्षीय यमलले नयाँ युगको सुरुवात गर्नेछन् भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ । बिहीबार बिहान सम्पन्न दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो विश्वकप उपाधितर्फ महत्वपूर्ण कदम चालेको हो । यसअघिको विश्कप पनि अर्जेन्टिनाले उछिट्याएको थियो ।

दोस्रो सेमिफाइनलको ५५औँ मिनेटमा मोर्गन रोजर्सको क्रसमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यसपछि अर्जेन्टिनाले लगातार आक्रमण गरे पनि गोल निस्कन सकेको थिएन । निको गोन्जालेजको प्रहार गोलकिपर जोर्डन पिकफोर्डले रोके भने एलेक्सिस म्याक एलिस्टरका दुई प्रहार पोस्टमा लागेका थिए ।

खेल सकिन केही समय बाँकी रहँदा कप्तान लियोनल मेसीले दिएको सटीक पासलाई एन्जो फर्नान्डेजले शक्तिशाली प्रहारमार्फत गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा मेसीकै अर्को आकर्षक क्रसलाई लाउटारो मार्टिनेजले हेडमार्फत गोलमा परिणत गरेपछि अर्जेन्टिनाले २–१ को रोमाञ्चक जित निकाल्यो । अर्जेन्टिनाका दुवै गोलमा मेसीले निर्णायक असिस्ट दिए ।

यसअघि पहिलो सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । मिकेल ओयारजाबालले पेनाल्टीमार्फत पहिलो गोल गरे भने पेड्रो पोरोले दोस्रो गोल थप्दै स्पेनलाई सहज जित दिलाएका थिए । यद्यपि, स्पेनको आक्रमणको केन्द्रमा भने फेरि एकपटक लामिन यमल नै रहे । उनले गोल नगरे पनि विपक्षी रक्षापंक्तिलाई निरन्तर दबाबमा राख्दै टोलीको आक्रमणलाई गति दिएका थिए ।

अब फाइनल अर्जेन्टिना र स्पेन दुई टोलीबीचको प्रतिस्पर्धा मात्र हुने छैन । यो विश्व फुटबलका दुई पुस्ताबीचको प्रत्यक्ष भिडन्त पनि हुनेछ । एकातिर विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने मेसी छन् भने अर्कोतर्फ बार्सिलोनाको ला मासियाबाट उदाएका भविष्यका सुपरस्टारका रूपमा हेरिएका लामिन यमल छन् ।

यमल र मेसीबीचको तुलना नयाँ होइन । दुवै बायाँखुट्टे खेलाडी र दुवैले बार्सिलोनाको प्रसिद्ध ला मासिया एकेडेमीबाट यात्रा सुरु गरेका हुन् । यमलले अहिले बार्सिलोनाको नम्बर १० जर्सीसमेत सम्हालिरहेका छन् । जुन जर्सीलाई मेसीले विश्व फुटबलकै प्रतिष्ठित जर्सीमध्ये एक बनाएका थिए । तर, यमलले आफू मेसीको प्रतिलिपि नभई आफ्नै पहिचान बनाउन चाहेको स्पष्ट रूपमा बताउँदै आएका छन् ।

रोचक पक्ष के छ भने मेसी स्वयंले पनि यमलको खुलेर प्रशंसा गरेका छन् । उनले नयाँ पुस्ताका खेलाडीमध्ये यमललाई सबैभन्दा उत्कृष्ट प्रतिभा भएको खेलाडीको रूपमा उल्लेख गरेका थिए ।

फाइनलमा अनुभव र युवा जोशबीचको प्रतिस्पर्धा हुनेछ । एकातिर आठ पटकका बालोन डीओर विजेता, विश्वकप, कोपा अमेरिका र लगभग सबै प्रमुख उपाधि जितिसकेका मेसी छन् । अर्कोतर्फ किशोर अवस्थामै युरोपेली फुटबलमा सनसनी मच्चाएका यमल छन् । यमलले आफ्नो उमेरभन्दा धेरै परिपक्व खेल प्रस्तुत गर्दै स्पेनलाई उपाधिनजिक पुर्‍याएका हुन् ।

अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप जिते मेसीले आफ्नो अविश्वसनीय करियरमा अर्को स्वर्णिम अध्याय थप्नेछन् । तर, स्पेन विजयी भए विश्व फुटबलमा नयाँ युगको औपचारिक घोषणा हुनेछ ।

त्यसैले अब विश्वका फुटबल समर्थकको नजर एउटै खेलमा केन्द्रित हुनेछ, जहाँ एकातिर फुटबल इतिहासका महानायक मेसी छन् भने अर्कोतर्फ भविष्यका सम्भावित सम्राट लामिन यमल । फाइनलले विश्वकपको विजेता मात्र नभएर विश्व फुटबलको वर्तमान र भविष्यको बहसलाई पनि नयाँ उचाइ दिने अपेक्षा गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.