
बारा । सरकार र मिटरब्याज पीडितबीच बुधबार तेस्रो चरणको वार्ता भए पनि कुनै सहमति हुन सकेन । सहमति नजुटेपछि पीडितहरूले वार्तासँगै आन्दोलन पनि निरन्तर जारी राख्ने अडान दोहोर्याएका छन् ।
बाराको निजगढमा भएको वार्तामा सरकारी टोलीले आन्दोलन स्थगित गरेर काठमाडौंमा अन्तिम सम्झौता गर्ने प्रस्ताव राखेको थियो । तर, मिटरब्याज पीडित संघर्ष समितिले लिखित सम्झौतामा हस्ताक्षर नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेको छ ।
संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले सम्झौता नभएसम्म वार्ता र संघर्ष सँगसँगै अघि बढ्ने बताए । हस्ताक्षर भएको मितिबाट मात्रै सम्झौता कार्यान्वयन हुने भएकाले त्यसअघि आन्दोलन स्थगित गर्न नसकिने उनको भनाइ छ ।
सरकारी टोलीले अधिकांश माग स्वीकार गर्न सकिने तर केही भाषागत विषय मिलाउनुपर्ने प्रस्ताव गरेको थियो । गृहमन्त्री सुधन गुरुङले यसअघि स्वीकार गरेको सहमतिपत्रलाई जस्ताको तस्तै हस्ताक्षर गरेर आधिकारिक मान्यता दिनुपर्ने माग पीडितहरूले राखेका छन् ।
जनकपुरबाट काठमाडौंतर्फ पैदल यात्रा गरिरहेका मिटरब्याज पीडितसँग गृहमन्त्री गुरुङ स्वयं बारा पुगेर वार्ता गरेका भए पनि हालसम्म सहमति हुन सकेको छैन । सहमति नजुटेकाले आन्दोलन यथावत् रहने पीडित पक्षको भनाइ छ ।



















