अब विराटनगरमै दुर्बिनबाट स्पाइन सर्जरी, आर्या न्युरोमा अत्याधुनिक सेवा सुरु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार ०९:३३

विराटनगर । मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगको उपचारलाई थप सुरक्षित, प्रभावकारी र कम पीडादायी बनाउने उद्देश्यका साथ विराटनगरस्थित आर्या न्युरो हस्पिटलले अत्याधुनिक युनिलेटरल बाइपोर्टल एन्डोस्कोपी (यूबीई) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ ।

यससँगै कोशी प्रदेशमै पहिलोपटक विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको आधुनिक दुर्बिन प्रविधिबाट स्पाइन शल्यक्रिया स्थानीयस्तरमै उपलब्ध भएको अस्पतालले जनाएको छ । अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. पंकजराज नेपालका अनुसार यूबीई (युनिलेटरल बाइपोर्टल एन्डोस्कोपी) प्रविधिमा करिब ८ मिलिमिटरका दुईवटा साना प्वालमार्फत विशेष क्यामेरा (दुर्बिन) र सूक्ष्म शल्य उपकरण प्रयोग गरी मेरुदण्डको शल्यक्रिया गरिन्छ । यस विधिबाट नसा च्यापिएको भागसम्म सहज रूपमा पुगेर आवश्यक उपचार गर्न सकिने भएकाले शल्यक्रिया अझ सुरक्षित र प्रभावकारी हुने उनले बताए ।

उनका अनुसार दुर्बिनबाट प्राप्त हुने ठूलो र स्पष्ट दृश्यका कारण शल्यक्रिया अत्यन्तै सूक्ष्म र सटीक रूपमा गर्न सकिन्छ । यसले वरपरका स्वस्थ तन्तुमा कम असर पुग्ने भएकाले बिरामीले कम पीडा महसुस गर्ने र उपचारको नतिजा पनि राम्रो हुने चिकित्सकहरूको भनाइ छ ।

डा. नेपालका अनुसार परम्परागत खुला शल्यक्रियाको तुलनामा यूबीई प्रविधिका धेरै फाइदा छन् । यसमा घाउ निकै सानो हुने, रक्तश्राव कम हुने, संक्रमणको जोखिम न्यून रहने र शल्यक्रियापछि बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्ने अवस्था हुन्छ । अधिकांश बिरामी शल्यक्रियाको एकदेखि दुई दिनभित्रै अस्पतालबाट घर फर्कन सक्ने जानकारी उनले दिए ।

यो प्रविधि विशेषगरी डिस्क खस्किने, साइटिका, नसामा दबाब पर्ने समस्या तथा स्पाइनल क्यानल साँघुरिने समस्या लगायत मेरुदण्डका विभिन्न रोगको उपचारमा प्रभावकारी मानिन्छ । आर्या न्युरो हस्पिटलले यो सेवा सञ्चालनसँगै कोशी प्रदेशसहित देशका विभिन्न जिल्लाका बिरामीले अत्याधुनिक स्पाइन उपचारका लागि काठमाडौं वा विदेश धाउनुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरेको छ ।

अस्पतालले आधुनिक प्रविधि, अनुभवी विशेषज्ञ चिकित्सक र गुणस्तरीय उपचार सेवामार्फत आफूलाई न्युरो तथा स्पाइन उपचारको अग्रणी केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य क्षेत्रमा विकसित भइरहेका नवीनतम प्रविधिलाई निरन्तर भित्र्याउँदै बिरामीलाई सुरक्षित, भरपर्दो र सहज उपचार सेवा उपलब्ध गराउने प्रतिबद्धता अस्पतालको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.