
विराटनगर । विराटनगरको गोल्डेन अस्पतालले विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मोहमद जियाउल हकले गोल्डेन अस्पताल प्रालिसम्बन्धी केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएका हुन् । उनले अस्पतालले श्रम तथा रोजगार कार्यालयले माग गरेका सबै कागजात निर्धारित समयभन्दा करिब १५ दिनअघि नै उपलब्ध गराइसकेको र कार्यालयले २०८३ असार २४ गते दिएका सम्पूर्ण निर्देशनको पूर्ण पालना तथा कार्यान्वयन गरिएको स्पष्ट पारेका छन् ।
श्रम तथा रोजगार कार्यालयले अनुगमन गर्दा विराटनगर महानगरपालिका –११ मा रहेको गोल्डेन अस्पतालले कर्मचारीमाथि चरम श्रम शोषण गरिरहेको फेला परेको थियो । आकस्मिक अनुगमनका क्रममा अस्पतालले प्रचलित श्रम ऐनको धज्जी उडाउँदै कर्मचारीलाई न्यूनतम सुविधा समेत नदिएको पाइएको कार्यालयले जनाएको छ ।
अनुगमनका क्रममा गोल्डेन अस्पतालमा कार्यरत कर्मचारीहरूले बाध्य भएर महिनाको ३० दिन नै काम गर्नुपर्ने र दैनिक कार्यअवधि १२ घण्टासम्म हुने गरेको खुलेको छ । यति धेरै श्रम गराउँदा पनि अस्पतालले कर्मचारीलाई मासिक मात्र २० हजार रुपैयाँ पारिश्रमिक दिने गरेको अनुगमन टोलीले जनाएको छ ।
अस्पतालले कर्मचारीहरू वार्षिक ग्रेड, सञ्चय कोष र अन्य सेवासुविधाबाट समेत वञ्चित गरेको पाइएको थियो । समितिले कर्मचारीलाई बैंकमार्फत पारिश्रमिक भुक्तानी गर्न र श्रम ऐनअनुसारका सबै सुविधा तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
तर, अस्पतालका प्रमुख कार्यकारी अधिकृत हकले भने आधिकारिक पुष्टि तथा अस्पतालको धारणा नलिई तथ्यहीन, भ्रामक र एकपक्षीय समाचार प्रकाशन भएकोमा आपत्ति जनाएका छन् । सुरक्षा सेवासम्बन्धी विषयमा अस्पतालले सुरक्षा सेवा प्रदायक कम्पनीसँग विधिवत् सम्झौता गरेको र सुरक्षा कर्मचारीको तलब, बिदा, सेवासुविधा तथा अन्य श्रमसम्बन्धी दायित्व उक्त कम्पनीकै जिम्मेवारीभित्र पर्ने उनको भनाइ छ । अस्पतालले सम्झौताअनुसारको सम्पूर्ण भुक्तानी सम्बन्धित कम्पनीलाई नियमित रूपमा उपलब्ध गराउँदै आएको पनि उनले बताए ।
अस्पतालले आधारहीन आरोपसहित प्रकाशित समाचारले संस्थाको प्रतिष्ठामा गम्भीर क्षति पुगेको दाबी गर्दै यस्ता समाचार पत्रकारिताको आचारसंहिता, निष्पक्षता र तथ्यपरक पत्रकारिताको मर्मविपरीत रहेको दाबी गरेको छ । यस विषयमा आवश्यक छानबिन गरी सम्बन्धित सञ्चारमाध्यमलाई सत्य, सन्तुलित र तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न तथा भ्रामक समाचार सच्याउने व्यवस्था मिलाइदिन अस्पतालले नेपाल पत्रकार महासंघसँग अनुरोध गरेको छ ।
विराटनगरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमनः गोल्डेनमा चरम श्रम शोषण

























