
अमेरिका । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि आफ्नो नाममा दर्ता गराएका छन् ।
फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै उनले विश्वकप इतिहासमै सर्वाधिक अवार्ड जित्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । उक्त खेलपछि मेसीको विश्वकपमा ‘म्यान अफ दी म्याच’ अवार्ड संख्या १३ पुगेको छ । जुन अहिलेसम्म कुनै पनि खेलाडीले हासिल गर्न नसकेको उपलब्धि हो ।
तर, यो मेसीका लागि नयाँ कुरा होइन । दुई दशकभन्दा लामो व्यावसायिक फुटबल करिअरमा उनले एकपछि अर्को कीर्तिमान बनाउँदै विश्व फुटबलको इतिहास नै पुनर्लेखन गरेका छन् । क्लब फुटबलदेखि अन्तर्राष्ट्रिय प्रतियोगितासम्म मेसीका नाममा दर्जनौं विश्व कीर्तिमान छन् ।
विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीको कीर्तिमान पनि मेसीकै नाममा छ । उनले २०२२ पछि २०२६ संस्करणमा समेत निरन्तर खेल्दै विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने इतिहास रचेका छन् । त्यस्तै, विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा पनि उनी शीर्ष स्थानमा पुगेका छन् ।
मेसी विश्वकपका सबै चरणहरु समूह, राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल सबैमा गोल गर्ने पहिलो खेलाडी पनि हुन् । लगातार विभिन्न संस्करणका विश्वकपमा गोल गर्ने, कप्तानका रूपमा सर्वाधिक विश्वकप खेल्ने र सर्वाधिक समय मैदानमा बिताउने खेलाडीको कीर्तिमान पनि उनकै नाममा छ ।
अन्तर्राष्ट्रिय फुटबलमा मेसी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता हुन् । राष्ट्रिय टोलीका लागि उनले १०० भन्दा बढी गोल गर्दै देशकै इतिहासमा सबैभन्दा सफल गोलकर्ताको स्थान सुरक्षित गरेका छन् । उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने खेलाडी पनि हुन् ।
कोपा अमेरिकामा पनि मेसीले नयाँ–नयाँ इतिहास बनाएका छन् । प्रतियोगितामा सर्वाधिक खेल खेल्ने, सर्वाधिक असिस्ट गर्ने र सर्वाधिक संस्करणमा सहभागी हुने कीर्तिमान उनकै नाममा छ । २०२१ र २०२४ मा अर्जेन्टिनालाई लगातार कोपा अमेरिका जिताउँदै उनले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो विरासतलाई बलियो बनाएका थिए ।
क्लब फुटबलमा मेसीका उपलब्धि झन् विशाल छन् । बार्सिलोनाबाट खेल्दा उनले क्लब इतिहासकै सर्वाधिक ६७२ गोल गरे । एउटै क्लबबाट सर्वाधिक गोल गर्ने कीर्तिमान लामो समयसम्म उनकै नाममा रह्यो । उनले ला लिगामा सर्वाधिक गोल, सर्वाधिक असिस्ट, सर्वाधिक ‘पिचिची’ अवार्ड र एकै सिजनमा ५० गोल गर्ने अविश्वसनीय कीर्तिमान पनि बनाएका छन् ।
सन् २०१२ मा उनले क्यालेन्डर वर्षभरि ९१ गोल गर्दै जर्मनीका गर्ड मुलरको ८५ गोलको विश्व कीर्तिमान तोडेका थिए । यो उपलब्धि आजसम्म फुटबल इतिहासकै सबैभन्दा कठिन रेकर्डमध्ये एक मानिन्छ ।
युरोपेली क्लब फुटबलमा पनि मेसीले सर्वाधिक गोल, सर्वाधिक ‘बालोन डी’ओर’ जित्ने खेलाडी, सर्वाधिक ‘गोल्डेन बल’ विजेता र आठ पटक ‘बालोन डी’ओर’ जित्ने एकमात्र खेलाडीको कीर्तिमान कायम गरेका छन् । फिफाको ‘द बेस्ट’ अवार्ड, गोल्डेन बुट, च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता सूची, क्लब स्तरमा ४० भन्दा बढी उपाधि तथा अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिका र फाइनलिसिमा जिताएको कप्तानका रूपमा पनि मेसीको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ ।
विश्व फुटबलमा पेले, डिएगो म्याराडोना, जोहान क्रुइफ, जिनेदिन जिदान, रोनाल्डो र क्रिस्टियानो रोनाल्डोजस्ता महान खेलाडीहरूको चर्चा भइरहँदा मेसी भने कीर्तिमानमाथि कीर्तिमान थप्ने यात्रामै छन् । ३९ वर्षको उमेरमा पनि उनको प्रदर्शन उस्तै प्रभावशाली देखिएको छ । २०२६ विश्वकपमा अर्जेन्टिनाको यात्रासँगै उनी अझ नयाँ कीर्तिमानतर्फ अघि बढिरहेका छन् ।
इतिहास रच्दै गरेका अर्जेन्टिनी जादुगर मेसीकै उत्कृष्ट योगदानले अर्जेन्टिनामा अहिले विश्वकपको फाइनलमा पुगेको छ । फुटबल विश्लेषकहरूका अनुसार मेसीको करिअरलाई उपाधिले मात्र नभएर उनले तोडेका र बनाएका विश्व कीर्तिमानहरूले पनि परिभाषित गर्छ । त्यसैले विश्व फुटबलमा उनको परिचय महान खेलाडीका रूपमा होइन, ‘कीर्तिमानका बादशाह’का रूपमा स्थापित भइसकेको छ ।

























