धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३२, बिहीबार २०:१३
 धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी

धनकुटा । सुधार गृहको रूपमा हुनुपर्ने कारागारमा क्षमताभन्दा अत्यधिक बढी संख्यामा कैदी बन्दी राखिएपछि धनकुटा कारागारको सुरक्षा व्यवस्था र मानव अधिकारको अवस्थाबारे अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले अनुगमन गरेको छ ।

इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा गएको टोलीले कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको स्थलगत अनुगमन गरेको हो । अनुगमनका क्रममा कैदी बन्दीहरूको आधारभूत मानव अधिकार, स्वास्थ्य, खानपान, सरसफाइ र उनीहरूमाथि हुने व्यवहारबारे जानकारी लिइएको थियो ।
अनुगमनका क्रममा धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको पाइएको छ । कुल ३५ जनाको क्षमता रहेको पुरुष कक्षमा हाल १६९ जना कैदी बन्दी कोचिएर बस्न बाध्य छन् । यस्तै, १५ जना क्षमता रहेको महिला कक्षमा भने ३ जना रहेका छन् ।

इन्सेक संयोजक पोखरेलले कारागारमा क्षमताभन्दा धेरै कैदी बन्दी हुँदा सुरक्षा व्यवस्था चुनौतीपूर्ण बनेको र उनीहरू आधारभूत मानव अधिकारबाट समेत वञ्चित हुनुपर्ने अवस्था देखिएको बताए । उनले भने, ‘सरकारको नीतिअनुसार कारागारलाई यातना गृहबाट सुधार गृहमा रूपान्तरण गर्नुपर्छ । कैदी बन्दीलाई समाजमा पुनर्स्थापित गर्न आवश्यक ज्ञान, सीप र नैतिकताको विकास गराउन राज्यले ध्यान दिनुपर्छ ।’

अनुगमनका क्रममा कैदी बन्दीहरूले खानपान, परिवारसँगको भेटघाट, रेडियो, टेलिभिजन र टेलिफोनको सुविधा रहेको बताएका छन् । कारागारभित्रै २० जना कैदी बन्दीले सामूहिक रूपमा मुढा लगायतका बाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छन् ।

यद्यपि, कारागारमा समस्याहरू पनि उत्तिकै छन् । चौकीदार रामकुमार राईका अनुसार कारागारमा शौचालयको सेफ्टी ट्यांकीको निकास र खानेपानीको मुख्य समस्या रहेको छ । जेलर सन्दीप न्यौपानेले कारागारमा दुई वर्षदेखि अहेव (स्वास्थ्यकर्मी) र केही समयदेखि कम्प्युटर अपरेटरको दरबन्दी रिक्त रहेको जानकारी दिए । हाल पुरुष कक्षमा ८ वटा र महिला कक्षमा १ वटा टेलिभिजन तथा पुरुषतर्फ ६ वटा र महिलातर्फ १ वटा शौचालय प्रयोगमा छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाको नवनिर्मित भवनमा महिला, बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै तीन वटा हिरासत कक्ष रहेका छन् । अनुगमनका क्रममा एक महिलासहित २३ जना थुनुवा रहेको पाइयो । लागुऔषध मुद्दाका थुनुवाहरूले हिरासतमा लामो समय बस्नुपर्ने भएकाले टेलिभिजनको व्यवस्था गरिदिन माग गरेका छन् ।
प्रहरी उपरीक्षक (एसपी) नारायण रञ्जितकारले नयाँ भवन बनेपछि हिरासत कक्ष मानव अधिकारमैत्री बनेको र थुनुवाहरूलाई मर्यादित व्यवहार गर्ने गरिएको बताए

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.