मनसुनसँगै बढ्यो हैजाको जोखिम

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०७:४४

काठमाडौं । मनसुन सक्रिय भएसँगै नेपालमा हैजा, झाडापखाला, टाइफाइडलगायत पानीजन्य रोगको जोखिम बढ्न थालेको छ । दूषित खानेपानी र अस्वच्छ खानाका कारण वर्षायाममा यस्ता रोग तीव्र रूपमा फैलिन सक्ने भएकाले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

रोग नियन्त्रण तथा महामारी विज्ञान महाशाखाका अनुसार पछिल्ला साताहरूमा देशभरका स्वास्थ्य संस्थामा झाडापखालाका बिरामीको संख्या उल्लेखनीय रूपमा बढेको छ । मन्त्रालयको नियमित निगरानी प्रणालीमा एक्युट ग्यास्ट्रोएन्टेराइटिस सबैभन्दा धेरै देखिएको रोगका रूपमा सूचीकृत भएको छ । पछिल्ला तीन साताको तथ्यांकअनुसार विभिन्न प्रदेशका स्वास्थ्य संस्थामा क्रमशः ७२०, ७६२ र ७१८ भन्दा बढी झाडापखालाका बिरामी उपचारका लागि पुगेका छन् ।

स्वास्थ्य विज्ञका अनुसार हैजा भिब्रियो कोलेरी नामक जीवाणुबाट हुने तीव्र संक्रामक रोग हो । समयमै उपचार नपाए शरीरमा पानी र लवणको मात्रा तीव्र रूपमा घट्ने, रक्तचाप कम हुने र ज्यानसमेत जोखिममा पर्न सक्ने अवस्था सिर्जना हुन्छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार समयमै जीवनजल (ओआरएस), प्रशस्त तरल पदार्थ र आवश्यक चिकित्सकीय उपचार उपलब्ध गराउन सके अधिकांश बिरामी पूर्ण रूपमा निको हुन सक्छन् ।

नेपालमा विगतका वर्षहरूमा काठमाडौं, ललितपुर, कैलाली, रुपन्देही र प्युठानलगायत जिल्लामा हैजाको प्रकोप देखिएको थियो । दूषित खानेपानी नै संक्रमणको मुख्य स्रोत रहेको निष्कर्ष स्वास्थ्य मन्त्रालयले निकालेको थियो । यही अनुभवलाई आधार बनाएर यस वर्ष जोखिम भएका क्षेत्रमा खानेपानी परीक्षण, रोग निगरानी र जनचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ ।

विशेषज्ञहरूले वर्षायाममा नदी, मुहान, इनार तथा पाइपलाइनको पानी वर्षाको भेलसँग मिसिएर दूषित हुने सम्भावना बढी रहने भएकाले उमालेर वा क्लोरिन प्रयोग गरी शुद्ध बनाएको पानी मात्र पिउन सुझाव दिएका छन् । त्यसैगरी खाना राम्ररी पकाएर खाने, फलफूल तथा तरकारी सफा पानीले धोएर मात्र प्रयोग गर्ने र खुला स्थानमा बिक्री हुने अस्वच्छ खाना नखान पनि आग्रह गरिएको छ ।

हातको सरसफाइलाई हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपायमध्ये एक मानिएको छ । शौचालय प्रयोग गरेपछि, खाना पकाउनुअघि, खाना खानुअघि र बालबालिकालाई खाना खुवाउनुअघि साबुनपानीले कम्तीमा २० सेकेन्डसम्म हात धुन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरूमा संक्रमणको जोखिम बढी हुने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ ।

बारम्बार पानीजस्तो पखाला लाग्ने, बान्ता हुने, अत्यधिक तिर्खा लाग्ने, आँखा गाडिने, शरीर कमजोर हुने वा पिसाब कम हुने जस्ता लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न चिकित्सकहरूले आग्रह गरेका छन् । घरेलु उपचारमा मात्र निर्भर रहँदा रोग जटिल बन्न सक्ने चेतावनी पनि उनीहरूले दिएका छन् ।

डा. पुनका अनुसार मनसुनका बेला हैजा र झाडापखालाको जोखिम न्यूनीकरण गर्न सरकारको प्रभावकारी निगरानी, स्थानीय तहको खानेपानी तथा सरसफाइ व्यवस्थापन र नागरिकको व्यक्तिगत सतर्कता समान रूपमा आवश्यक छ । सुरक्षित खानेपानी, स्वच्छ खाना, नियमित हात धुने बानी र समयमै उपचार नै हैजाबाट बच्ने सबैभन्दा भरपर्दो उपाय भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.