
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चासँगै प्रदेश राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट सुरु भएको राजनीतिक अस्थिरताको बाछिटा कोशीसम्म आइपुग्दा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने अहिले नै अत्तालिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
आधिकारिक जानकारी पर्खिँदै मुख्यमन्त्री
नेपाली कांग्रेसले मन्त्रीहरू फिर्ता बोलाउने तयारी गरेको विषयमा मुख्यमन्त्री कार्कीले अहिलेसम्म कुनै औपचारिक पत्र वा जानकारी नआएको बताएका छन् । ‘जबसम्म आधिकारिक रूपमा मन्त्रीहरू फिर्ता बोलाइएको वा समर्थन फिर्ता लिइएको जानकारी आउँदैन, तबसम्म यस विषयमा धेरै टिप्पणी गर्नुको अर्थ छैन,’ उनले भने, ‘कांग्रेस संसदीय दलका नेताले बाहिर बोलेका कुराहरू सुनिएका छन् । तर, ठोस कदम चालेपछि मात्रै हामी थप निर्णयमा पुग्छौँ ।’
प्रदेशमा देखिन थालेको ‘डोमिनो इफेक्ट’
सुदूरपश्चिममा बजेट फेल गराउन भन्दै सुरु भएको अस्थिरता कर्णाली हुँदै कोशीसम्म आइपुगेको मुख्यमन्त्री कार्कीको बुझाइ छ । उनले प्रदेश संरचनालाई बलियो बनाउन यस्ता खेलहरू घातक हुने चेतावनी दिएका छन् ।
कार्की भन्छन्, ‘प्रदेशहरूमा एकपछि अर्को गर्दै अस्थिरता देखिनु राम्रो संकेत होइन । यस्तो बेला राजनीतिक दलहरू बढी संयमित र जिम्मेवार हुन जरुरी छ ।’
‘कांग्रेस–एमाले गम्भीर बनौँ’
नेकपा (एमाले) र नेपाली कांग्रेसले अहिले विभिन्न प्रदेशको नेतृत्व गरिरहेका छन् । यस्तो अवस्थामा सरकार फेरबदल र बजेट फेल गराउने जस्ता गतिविधिले प्रणालीमै असर पुग्ने उनको तर्क छ । ‘हामीले सुशासन र राजनीतिक स्थिरता कायम गर्ने कसम खाएका हौँ,’ मुख्यमन्त्री कार्कीले भने, ‘६–६ महिनामा मुख्यमन्त्री र मन्त्री फेर्ने परिपाटीले जनतामा वितृष्णा जगाएको छ । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्छ ।’
मुख्यमन्त्री कार्कीले आलोपालो नेतृत्वको विषय पार्टीको आन्तरिक र केन्द्रीय नेतृत्वको विषय भएको स्पष्ट पारेका छन् । उनले भने, ‘म पार्टीको कार्यकर्ता हुँ । त्यसैले केन्द्रले जे निर्णय गर्छ । त्यो मेरा लागि शिरोधार्य हुन्छ । तर, कुनै पनि निर्णय लिनुअघि कांग्रेस र एमालेबीच ठोस सहमति हुन आवश्यक छ ।’
समस्या जहाँ छ, त्यहीँ हल गरौँ
मुख्यमन्त्री कार्कीले एउटा प्रदेशको समस्यालाई लिएर सबै प्रदेशमा अस्थिरता फैलाउन नहुनेमा जोड दिएका छन् । ‘सुदूरपश्चिमको समस्या त्यहीँ हल गरौँ, कर्णालीको त्यहीँ । सबैलाई एकै ठाउँमा मिसाएर देशभर अस्थिरता सिर्जना गर्नु बुद्धिमानी हुँदैन,’ उनले थपे ।
अहिलेको अवस्थामा कांग्रेसका नेताहरूसँग नियमित संवाद भइरहेको र उनीहरूले आफूहरूमाथि ‘दबाब’ रहेको बताएको जानकारी कार्कीले दिए । बागमती, मधेश र गण्डकीमा कांग्रेस नेतृत्वकै सरकार रहेकाले अन्य प्रदेशमा पनि मिलेरै जानुपर्ने उनको धारणा छ । उनले भने, ‘अस्थिरता निम्त्याउने काम नगरौँ । केन्द्रको निर्णय शिरोधार्य हुन्छ ।’ कार्की एमालेका केन्द्रीय सचिव हुन् । कोशीमा उनको नेतृत्वमा कांग्रससहितको प्रदेश सरकार छ ।

























