
एजेन्सी । मेक्सिकोको दक्षिणी तटीय क्षेत्रमा शुक्रबार ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि प्रशान्त महासागर आसपासका केही तटीय क्षेत्रमा सुनामीको जोखिम बढेको छ ।
अमेरिकी सुनामी चेतावनी प्रणालीका अनुसार मेक्सिको र ग्वाटेमालाको तटीय क्षेत्रमा सामान्यभन्दा ०.३ मिटरदेखि १ मिटर उचाइसम्मका खतरनाक सुनामीका छाल आउन सक्ने सम्भावना रहेको छ । त्यसैले जोखिमयुक्त तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार भूकम्पको केन्द्रबिन्दु मेक्सिकोको प्यूर्टो माडेरो नजिक रहेको थियो । १५.२ किलोमिटर गहिराइमा गएको भूकम्पको तीव्रता ७.३ म्याग्निच्युड मापन गरिएको छ ।
ओक्साका राज्यका गभर्नर सालोमन जारा क्रुजले भूकम्पको धक्का मध्यमदेखि बलियो महसुस भए पनि हालसम्म कुनै ठूलो मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताएका छन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भूकम्पको धक्का छिमेकी देश ग्वाटेमाला र एल साल्भाडोरमा पनि महसुस गरिएको थियो ।
ग्वाटेमाला सिटीका धेरै बासिन्दा त्रसित हुँदै घरबाट बाहिर निस्किएका थिए । सुनामी सतर्कता प्रणालीले जोखिममा रहेका तटीय क्षेत्रका स्थानीय सरकार र आपत्कालीन निकायलाई आवश्यक सुरक्षा तयारी गर्न तथा सर्वसाधारणलाई समयमै सचेत गराउन निर्देशन दिएको छ । साथै, तटीय क्षेत्रका बासिन्दालाई आधिकारिक सूचनामा मात्रै विश्वास गर्न र स्थानीय प्रशासनले जारी गर्ने निर्देशनको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

























