प्रेमीसँग मिलेर सर्प प्रयोग गरी पतिको हत्या

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १०:५७

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित मेरठमा आफ्नै पतिको हत्या गर्न एक महिलाले करिब एक वर्षसम्म योजना बनाएको सार्वजनिक भएको छ । प्रहरीले ती महिलाले प्रेमीसँग मिलेर विषालु सर्प प्रयोग गरी पतिको हत्या गरेको जनाएको छ ।

प्रहरीका अनुसार दामिनी नामकी महिलाले आफ्ना पति अतुललाई दूधमा निद्राको औषधि मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनी र उनका प्रेमी तुषारले विषालु सर्प प्रयोग गरेर अतुलको हत्या गरेको आरोप लागेको छ ।

Advertisement

अनुसन्धानका क्रममा दामिनीले करिब एक वर्षदेखि देशभर भएका चर्चित पति हत्या घटनाको अध्ययन गर्दै आएको खुलेको प्रहरीले जनाएको छ । उनले इन्टरनेटमा प्रमाण नछोडी अपराध गर्ने तरिका, प्रहरी अनुसन्धानको शैली तथा विगतका घटनामा अपराधी कसरी पक्राउ परे भन्ने विषयमा समेत जानकारी खोज्ने गरेको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रहरीका अनुसार यही तयारीका कारण उनले मेरठमा यसअघि चर्चामा आएको सर्प प्रयोग गरिएको हत्या प्रकरणबाट प्रेरणा लिएर नयाँ योजना बनाएको आशंका गरिएको छ । यसअघि भएका घटनामा भएका कमजोरी नदोहोर्‍याउने प्रयास पनि गरिएको अनुसन्धान अधिकारीहरूको भनाइ छ ।

दामिनीले सन् २०१९ मा अतुलसँग प्रेम विवाह गरेकी थिइन् । प्रारम्भिक केही वर्ष दाम्पत्य जीवन सामान्य रहे पनि पछि सम्बन्ध बिग्रँदै गएको बताइएको छ । दामिनीले विवाहको करिब दुई वर्षपछि अतुलले आफूलाई कुटपिट गर्ने र शारीरिक तथा मानसिक यातना दिने गरेको बयान दिएकी छन् ।

प्रहरीका अनुसार करिब एक वर्षअघि दामिनीको तुषारसँग प्रेम सम्बन्ध सुरु भएको थियो । त्यसपछि दुवैले अतुललाई हटाउने योजना बनाएको उल्लेख छ ।

अनुसन्धानका क्रममा दामिनीले मेरठको चर्चित ‘नीलो ड्रम’ हत्या प्रकरण, बहसुमा क्षेत्रमा भएको सर्प प्रयोग गरिएको हत्या, इन्दौरका राजा रघुवंशीको मेघालयमा भएको हत्या तथा पुणेमा केतनको हत्या लगायतका चर्चित घटनाबारे विस्तृत अध्ययन गरेको खुलेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान जारी रहेको भारतीय प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×