भारी वर्षाको सम्भावनासँगै सतर्क रहन आग्रह

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ५, मंगलबार ०६:३५

काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (मंगलबार) पनि विभिन्न प्रदेशका पहाडी तथा तराई क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी केही प्रदेशका पहाडी भू–भागमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा औसत स्थानमै रहेको छ । यसको प्रभावका कारण मंगलबार दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

Advertisement

दिउँसो हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ । साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागले जनाएको छ ।

विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । रातिको मौसम पनि अधिकांश स्थानमा बदली रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र, मधेश र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।

विभागका अनुसार रातको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी, खोला आसपास तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×