
विराटनगर । सुनसरीको इटहरीमा ट्रकको ठक्करबाट पैदलयात्री वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परेर इटहरी उपमहानगरपालिका–५ की ७५ वर्षीया पद्मकुमारी खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनु्सार कोशी लोकमार्गअन्तर्गत इटहरी–४ हलगडामा प्रदेश १–२–००२ ख १३२८ नम्बरको ट्रकले सोमबार बिहान ठक्कर दिँदा खड्का गम्भीर घाइते भएकी थिइन् । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ बाटो काट्दै गर्दा वृद्धालाई ट्रकले ठक्कर दिएको थियो । ट्रक र चालक संखुवासभाको धर्मदेवी नगरपालिका–५ का २६ वर्षीय निमा जाङबु शेर्पा शर्पालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ । सडकमा चालकले ध्यान नदिँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



















