विपद्‍का घटनामा परेर दुई जनाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०६:०७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर भएका विभिन्न विपद्‍का घटनामा परेर दुई जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानदेखि मंगलबार बिहानसम्म देशका ५२ जिल्लामा ६६ वटा विपद्‍का घटना भएका हुन् । घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार उक्त अवधिमा पहिरोका १७, अविरल वर्षाका १०, सर्पदंशका आठ, आगलागीका सात, बाढीका छ, भूकम्पका दुई तथा चट्याङ र जनावरको आक्रमणका एक–एक घटना भएका छन् । विपद्का कारण सात स्थानमा सडक अवरुद्ध भएको थियो । सम्बन्धित निकायको समन्वयमा अधिकांश स्थानमा सडक खुलाउने प्रयास जारी रहेको छ ।

मनसुन सक्रिय रहेकाले आगामी दिनमा पनि बाढी, पहिरो र डुबानको जोखिम कायम रहने भन्दै प्राधिकरणले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्रको यात्रा नगर्न, अत्यावश्यक परे मौसमको पूर्वानुमान र सम्बन्धित निकायको सूचना हेरेर मात्रै यात्रा गर्न तथा स्थानीय प्रशासनले जारी गर्ने चेतावनीको पालना गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×