
कैलाली । कैलालीमा करिब एक अर्ब रुपैयाँभन्दा बढी मूल्यको काठ अवैध रूपमा कटान गरी बिक्री–वितरण गर्न खोजिएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
अख्तियारको कञ्चनपुरस्थित कार्यालयको टोलीले मंगलबार डिभिजन वन कार्यालय धनगढी र डिभिजन वन कार्यालय पहलमानपुरमा पुगेर काठको लिलाम तथा बिक्रीसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो । ठूलो परिमाणमा काठ अनियमित रूपमा लिलाम बिक्री गर्न खोजिएको भन्ने उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको आयोगले जनाएको छ ।
स्रोतका अनुसार प्रदेशमा उच्चस्तरको राजनीतिक संरक्षणमा काठ बिक्री प्रक्रिया अघि बढाइएको सूचना प्राप्त भएपछि अख्तियार सक्रिय भएको हो । विभिन्न सामुदायिक वन, केही काठ व्यवसायी र वन कर्मचारीबीचको मिलेमतोमा काठ तस्करी गर्ने योजना बनेको आशंकामा छानबिन सुरु गरिएको बताइएको छ ।
अनुसन्धानका क्रममा डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुर, डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्या तथा वन निर्देशनालयका निर्देशक हेमराज विष्टको संलग्नता देखिने प्रारम्भिक आधार फेला परेको अख्तियारसँग सम्बद्ध स्रोतले जनाएको छ । यद्यपि, उनीहरूमाथिको आरोप अनुसन्धानकै क्रममा रहेको छ ।
प्रारम्भिक विवरणअनुसार कैलालीका करिब एक दर्जन सामुदायिक वनबाट एक लाख २३ हजार क्युबिक फिट र पहलमानपुर क्षेत्रबाट दुई लाख २२ हजार क्युबिक फिट काठ निकाल्ने तयारी गरिएको थियो । दुवै डिभिजन वन कार्यालयअन्तर्गतको काठको अनुमानित मूल्य एक अर्ब रुपैयाँभन्दा बढी रहेको अख्तियारको प्रारम्भिक आकलन छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार हरिया रुखमा किरा लागेको भन्दै काट्न मिल्ने भनी वन विज्ञबाट झुटो सिफारिस तयार गरिएको थियो । त्यसपछि सग्ला खयरका रुख कटानका लागि आवश्यक कागजात तयार गरी लिलाम बिक्री प्रक्रिया अघि बढाइएको आरोप छ ।
नेपाल वन पैदावार उद्योगी महासंघ तथा अन्य उद्योगीलाई जानकारी नै नदिई सीमित व्यवसायीको सहभागितामा टेन्डर प्रक्रिया अघि बढाइएको पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो विषय सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिका सांसदहरूले स्थलगत अनुगमन गरेका थिए ।
अनुगमनपछि ठूलो परिमाणको काठ बिक्री प्रक्रियामा अनियमितता देखिएको निष्कर्ष निकाल्दै छानबिन सम्पन्न नभएसम्म लिलाम प्रक्रिया रोक्न निर्देशन दिएका थिए । लिलाम अन्तिम स्वीकृतिको चरणमा पुगेका बेला अख्तियारले सम्बन्धित सबै कागजात नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

























