कांग्रेस नेतृत्वको सरकार संकटमा, एमालेका सबै मन्त्री बाहिरिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ११:२९

हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा (एमाले)ले आफ्नो सहभागिता अन्त्य गर्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । पार्टीको निर्णयअनुसार एमालेका ६ जना मन्त्रीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् ।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्रीलाई सम्बोधन गर्दै पठाएको पत्रमा संविधानको धारा १६८ बमोजिम पार्टीको निर्णय र वर्तमान राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै सरकारमा रहेका सबै मन्त्रीले तत्काल लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ । साथै, राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।

Advertisement

थपलियाले सरकारलाई एमालेले दिएको समर्थन पनि फिर्ता लिइएको पुष्टि गरेका छन् । समर्थन फिर्तासँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको कांग्रेस सरकार अल्पमतमा परेको छ । अब संविधानअनुसार उनले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

एमालेबाट सरकारमा कृषि, पशुपन्छी तथा वन वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, यातायात मन्त्री जयराम थापा, वन तथा वातावरण मन्त्री भरतबहादुर केसी, स्वास्थ्य मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।गत असार ३२ गते मन्त्रिपरिषद् बैठकमा सहभागी भएर काठमाडौं फर्किएका मन्त्रीहरू पार्टी नेतृत्वको निर्देशनपछि राजीनामा बुझाउन हेटौंडा पुगेका थिए ।

मन्त्री मधुसुदन पौडेलका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारहरूको सत्ता सहकार्यका बारेमा भएको छलफलपछि पार्टीले सरकारबाट बाहिरिन निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।

बागमती प्रदेशमा साउन २०८१ देखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार सञ्चालनमा थियो । करिब दुई वर्षपछि एमाले सरकारबाट बाहिरिएसँगै प्रदेशको राजनीतिक समीकरण फेरिएको छ भने कांग्रेस नेता एवं मुख्यमन्त्री बानियाँले अब विश्वासको मतमार्फत आफ्नो सरकारको भविष्य तय गर्नुपर्ने अवस्था आएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×