सेनाकी सह–सेनानी सुफल केसीमाथि छानबिन गर्न अख्तियारको सिफारिस

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १४:३५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित आरोपमा नेपाली सेनाकी प्राविधिक सह–सेनानी सुफल केसीमाथि आवश्यक अनुसन्धान गर्न रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई पत्राचार गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा उनकी पत्नी समेत रहेकी सह–सेनानी केसीको भूमिका शंकास्पद देखिएको भन्दै आयोगले अनुसन्धानका लागि सम्बन्धित निकायलाई लेखी पठाएको हो । आयोगले अधिकारीमाथि घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्दै एक करोड ७१ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

Advertisement

अनुसन्धानका क्रममा विमानस्थल निर्माणसँग सम्बन्धित ठेकेदार कम्पनीका सञ्चालकहरूसँग भएको जग्गा कारोबारमा केसीको बैंक खातामार्फत आर्थिक कारोबार भएको आयोगको दाबी छ । अख्तियारका अनुसार अधिकारीले खरिद गरेको जग्गाको कुमारी बैंकका मूल्यांकनकर्ताले तीन करोड ३४ लाख रुपैयाँ मूल्यांकन गरेका थिए । तर, कारोबार कागजातमा ७५ लाख रुपैयाँ मात्रै देखिएको र बाँकी रकमको स्रोत तथा हिसाब सम्पत्ति शुद्धीकरणमार्फत मिलाइएको आशंका गरिएको छ ।

यही आधारमा आयोगले सह–सेनानी केसीको भूमिकाका बारेमा पनि अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकाल्दै रक्षा मन्त्रालय र नेपाली सेना जंगी अड्डालाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो । आयोगको निर्णयमा प्रचलित संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार सह–सेनानी केसीमाथि आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको उल्लेख छ ।

सह–सेनानी केसी हाल नेपाली सेनामा प्राविधिक अधिकृतका रूपमा कार्यरत छन् । आयोगले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उनको नाम खुलाएको थिएन । तर, अधिकारीविरुद्ध दायर गरिएको मुद्दासँग सम्बन्धित अनुसन्धानका क्रममा उनको संलग्नताका बारेमा छुट्टै अनुसन्धान गर्न निर्णय गरिएको खुलेको हो । रक्षा मन्त्रालय र नेपाली सेनाले अनुसन्धान प्रक्रिया कसरी अघि बढाउने भन्ने बारेमा कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×