मनसुनसँगै स्वास्थ्य, व्यापार र यात्रामा चुनौती

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ श्रावण ६, बुधबार १६:४८

विराटनगर । मनसुनको आगमन मौसममा आएको एउटा सामान्य परिवर्तन मात्रै हैन । पूर्वी नेपालका पहाडी भेगका बासिन्दाका लागि भने बर्खाको बादलसँगै चिन्ताको पारो पनि ह्वात्तै बढेर जान्छ ।

केही घण्टाको लगातारको झरी, त्यसपछि खस्ने पहिरो अनि अवरुद्ध हुने सडक । कोशी प्रदेशका पहाडी जिल्लाहरूमा यो कथा हरेक मनसुनमा दोहोरिने एउटा नियति नै बनिसकेको छ । सडक बन्द हुनासाथ यात्रुहरू बाटोमै अलपत्र पर्छन्, बिरामी अस्पताल पुग्न पाउँदैनन्, किसानको तरकारी बारीमै कुहिन्छ र व्यापारीका उपभोग्य सामान गन्तव्य नपुगी बिग्रिने गर्छन् ।

Advertisement

नेपालको पहाडी भू–भागमा मनसुनका बेला सडक अवरुद्ध हुनु नयाँ विषय होइन । तर, यसको असर भने बर्सेनि झनै बढ्दै गएको छ । यसले यात्रामा ल्याउने असहजता मात्र नभएर समग्र जनजीवन, स्वास्थ्य, व्यापार, कृषि र शिक्षा क्षेत्रलाई नै अस्तव्यस्त बनाइदिन्छ । विशेषगरी धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुङ र इलामजस्ता पहाडी जिल्लाहरूलाई तराईसँग जोड्ने प्रमुख सडकहरूमा पहिरो खस्दा विराटनगर लगायत तराईका सहरसँगको सिधा सम्पर्क टुट्छ ।

यसको सबैभन्दा गम्भीर असर स्वास्थ्य क्षेत्रमा पर्ने गर्छ । पहाडी जिल्लाका अस्पतालमा उपचार सम्भव नभएका बिरामी, दुर्घटनाका घाइते तथा गर्भवती महिलालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल वा पूर्वका अन्य ठूला स्वास्थ्य संस्थामा ल्याउनु परेमा सडक अवरुद्ध भएर एम्बुलेन्सहरू बाटोमै अड्किन्छन् । कोशी अस्पतालका डा. प्रविण गिरीका अनुसार आकस्मिक उपचारमा प्रत्येक मिनेटको महत्त्व हुने भए पनि सडक अवरुद्ध हुँदा उपचारमा ढिलाइ भई बिरामीको ज्यान जाने जोखिम उच्च रहन्छ । अझ मुटुसम्बन्धी समस्या, टाउकोको चोट र अत्यधिक रक्तस्राव भएका बिरामीहरूका लागि सडकको यो अवस्था घातक बन्ने गर्छ ।

त्यस्तै, व्यापारिक दृष्टिकोणले हेर्दा पनि बर्खाको समय निकै कष्टकर छ । विराटनगर लगायत तराईका सहरबाट पहाडी जिल्लातर्फ खाद्यान्न, ग्यास, औषधि र दैनिक उपभोग्य सामग्री पठाइन्छ भने पहाडबाट तराईतर्फ ताजा तरकारी, फलफूल, अदुवा र अलैंची ल्याइन्छ । सडक बन्द हुनासाथ दुवैतर्फको आपूर्ति प्रणाली ठप्प हुन्छ ।

विराटनगरका व्यापारी रमेश खड्काका अनुसार धरान–धनकुटा सडक वा कोशी लोकमार्गमा पहिरो जाँदा दुई–तीन दिनसम्म बाटो खुल्दैन । जसले गर्दा तराईबाट पठाइएका सामान बिग्रिन्छन् भने पहाडका ताजा तरकारी बाटोमै कुहिएर व्यवसायीले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने उनले बताए । यसको सोझो असर बजार मूल्यमा पर्छ ।

मनसुनका बेला पहाडी सडकमा यात्रा गर्नु आफैमा ठूलो जोखिम हो । पहिरो, हिलो र सडक चिप्लिने खतराका बीच ज्यान हत्केलामा राखेर गाडी चलाउनुपर्ने बाध्यता रहेको बस चालक मो. आलम अन्सारी बताउँछन् । गन्तव्यमा पुगिएला कि नपुगिएला भन्ने डरैडरमा यात्रा गर्नुपर्ने र बाटोमा पहिरो जाँदा साना बालबालिका तथा वृद्ध यात्रुहरू खानेपानी र खाजाको समेत अभावमा भोकभोकै अलपत्र पर्नुपर्ने अवस्था आउँछ । यसका साथै, सडक अवरुद्ध हुँदा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउदैनन् भने शिक्षक र विद्यार्थीहरू समयमा विद्यालय पुग्न नसक्दा पठनपाठन नै प्रभावित हुने गरेको छ ।

पूर्वाधार विज्ञहरूका अनुसार कमजोर भू–बनोट, अव्यवस्थित सडक निर्माण, पानी निकासको उचित व्यवस्था नहुनु, वन विनाश र जलवायु परिवर्तनका कारण बर्खामा पहिरोको जोखिम धेरै बढेको हो । सडक निर्माणपछि नियमित मर्मत सम्भार नहुनुले पनि समस्यालाई थप जटिल बनाएको छ । मनसुनजन्य विपद्‌लाई केवल प्राकृतिक घटना मानेर बस्न मिल्दैन ।

सडक निर्माणअघि विस्तृत प्राविधिक अध्ययन गर्ने, गुणस्तरीय निर्माणमा जोड दिने, जोखिमयुक्त ढलानहरूमा बायो–इन्जिनियरिङ प्रविधि अपनाउने र पूर्वसूचना प्रणालीका साथै उद्धार टोली तैनाथ राख्न सके क्षति धेरै हदसम्म घटाउन सकिने सरोकारवाला बताउँछन् । उनीहरुका अनुसार बर्सेनि दोहोरिने नियतिलाई रोक्न सरकार र सम्बन्धित निकायले तत्कालीन राहतभन्दा माथि उठेर दीर्घकालीन समाधानतर्फ पाइला चाल्नु पर्ने हुन्छ ।

तपाइको प्रतिक्रिया
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
मिटरब्याजका नक्कली कागजात खारेज गर्ने सरकारको निर्णय
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×