
विराटनगर । हुलाकी सडकका कारण समयमा नै अस्पताल पुर्याउन नपाउँदा झापा गौरीगञ्जका सतलाल हलुवाईकाे मृत्यु भएकाे छ । आइतबार रातभर जाग्रम बसेर विश्वकप फुटबल हेरेका उनी साेमबार बिहान विरामी परेका थिए ।
अनिदो र स्वास्थ्यमा अचानक समस्या देखिएपछि श्रीमती बबिता दासले उनलाई तत्कालै गौरीगञ्ज अस्पताल पुर्याइन् । चिकित्सकले श्वासप्रश्वासमा समस्या देखिएको भन्दै थप उपचारका लागि विराटनगरको नोबेल मेडिकल कलेज रेफर गरिदिए । उनलाई बाेकेर एम्बुलेन्स हुलाकी सडक हुँदै हुँइकियो । तर, विराटनगर नजिकैको ६ किलोमिटर सडक खण्ड सतलालका लागि ‘मृत्युको पासो’ बन्याे । अस्तव्यस्त सडक पार गर्न नपाउँदै उनले अन्तिम सास फेरे ।
हुलाकी सडकको दुर्दशा कतिसम्म छ भन्ने कुरा सतलालका जेठान अंचल दासको बयानले प्रष्ट पार्छ । ‘हामी जाँदा जुडी खोला पुलसम्म बिरामीको अवस्था ठिकै थियो,’ दास भन्छन्,’त्यो पुलमा एम्बुलेन्स उफ्रिँदा बिरामीको नाकमा लगाएको अक्सिजनको पाइप नै निस्कियो ।’ त्यसपछि सडककाे खाल्डाखुल्डीमा एम्बुलेन्स उफ्रिदा पटक पटक उनकाे नाकबाट अक्सिजनकाे पाइप फुस्कियाे । हल्किरहेको एम्बुलेन्सभित्र छटपटाइरहेका बिरामीलाई अक्सिजन जोड्दै लगे । तर, बाटोको खाल्डाखुल्डीका कारण एम्बुलेन्स यति धेरै हल्लियो कि अक्सिजन पाइप कहिले जोडिने त कहिले निस्कने भइरह्यो । ‘त्यसको १०–१५ मिनेटमै उहाँको शरीर चिसो भयो र प्राण गयो,’ जेठान दासले भावुक हुँदै भने, ‘विराटनगरको हाटखोला नपुग्दै उहाँको सास रोकिसकेको थियो ।’
नोबेल अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषित गरे । चिकित्सकले परिवारलाई एउटै प्रश्न सोधे,’किन ढिलो गर्नुभयो ? १५–२० मिनेट अगाडि मात्र ल्याएको भए ज्यान बचाउन सकिन्थ्यो ।’
एम्बुलेन्स चालक विश्व ताजपुरियाका अनुसार हुलाकी सडकको जुडी खाेलादेखि–हाटखोला खण्डको करिब ६ किलोमिटर सडक यति ध्वस्त छ कि त्यहाँ गाडी गुडाउनै मुस्किल पर्छ । ‘सामान्य अवस्थामा ५–७ मिनेटमा पार गरिने बाटो हो , तर खाल्डाखुल्डीका कारण २०–२२ मिनेट लाग्यो,’ ताजपुरिया भन्छन्, ‘बिरामी बचाउन फुल अक्सिजन दिएर दौडाउन खोज्दा पनि बाटोले साथ दिएन ।’
अर्का एम्बुलेन्स चालक गोविन्द यादवका अनुसार यो खण्डमा एम्बुलेन्सलाई २०–२५ किलोमिटर प्रतिघण्टाको गतिमा कुदाउन पनि सम्भव छैन । अपरेशन गरेका बिरामीलाई त यो सडक पार गराउन झण्डै आधा घण्टा लाग्ने उनी बताउँछन् ।
मोरङ खण्डमा पर्ने ४४ किलोमिटर हुलाकी सडकमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्मको ६ किलोमिटर सडक वर्षौँदेखि अलपत्र छ । २०७६ सालमा श्रेष्ठ कन्ट्रक्सन कम्पनी प्रालि काठमाडौंले यसको ठेक्का लिएको थियो । तर, मुख्य ठेकेदारले काम नगरी अन्तिम समयमा विवादास्पद पृष्ठभूमि भएका अभिषेक गिरीलाई पेटी ठेक्का दिएपछि काम अलपत्र पर्यो । अहिले ठेकेदार सुभास श्रेष्ठ र गिरीबीचको विवाद केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्म पुगेको छ । श्रेष्ठले दिएकाे जाहेरीका आधारमा गिरीमाथि ठगी र आपराधिक विश्वासघातको अनुसन्धान भइरहेकाे छ ।
सिटी सफारी चलाएर परिवार पाल्दै आएका सतलालका श्रीमती र साना छोराछोरी छन् । परिवारले मंगलबार उनको दाहसंस्कार गरिएको छ, तर परिवारको शोक र आक्रोश कम भएको छैन ।
‘मेरो ज्वाईँ त जानुभयो, तर अब यो ज्यानमारा बाटोका कारण अरु कसैले ज्यान गुमाउनु नपरोस्,’ अंचल दास भन्छन् ।
हुलाकी सडक योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलका अनुसार पुरानो ठेक्का तोडेर यो ६ किलोमिटर खण्डका लागि नयाँ ठेक्का आह्वान भइसकेको छ । ठेक्का नलाग्दा सम्मकाे अवधिमा आयाेजनाले नै खाल्डाखुल्डी पुर्ने उनी बताउँछन् ।

























