
विराटनगर । नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य टुटेपछि कोशी प्रदेशमा पनि नयाँ सरकार गठनकाे जाेडघटाउ सुरु भएकाे छ । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा )बीच प्रदेश तहमा सहकार्य गर्ने समझदारी बनेसँगै नयाँ सरकार गठनकाे गृहकार्य सुरु भएकाे हाे ।
प्रदेशकाे प्रमुख नेकपाले प्रदेशमा एमालेसँग सहकार्य गर्दा प्रदेशको नेतृत्व पाउनु पर्ने दाबी गरेकाे छ ।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटवार्तापछि दुई दल प्रदेशमा पनि मिलेर जान तयार भएका थिए । सोही सहमति अनुसार बागमती प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । कोशीमा पनि वाम गठबन्धनको सरकार बनाउने गृहकार्य सुरु भएपछि नेकपाले मुख्यमन्त्रीको अडान राखेको हाे ।
नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेशको नेतृत्वका लागि आफूहरूले बलियो अडान राखेको बताए । पछिल्लो समय एमालेले पटक-पटक नेतृत्व गरिसकेकाले अबको पालो नेकपाकाे हुनुपर्ने उनको तर्क छ । ‘कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारले चारवटा बजेट ल्याइसकेको छ । अब नयाँ सहकार्य हुने हो भने नेतृत्व नेकपाले पाउनुपर्छ भन्ने सर्त हामीले नेतृत्वलाई राखेका छौँ,’ आङ्बोले भने, ‘अध्यक्ष प्रचण्डले यसमा सकारात्मक जवाफ दिनुभएको छ । बिहीबार एमाले अध्यक्ष ओलीसँग हुने थप छलफलपछि यसको टुङ्गो लाग्नेछ ।’
एमालेभित्र अन्तर्विरोध
एमाले र कांग्रेसबीचको सहकार्य टुट्नुमा कोशी प्रदेशकै नेतृत्वको विषय मुख्य कारण बनेको थियो । आलोपालोको सहमति अनुसार कांग्रेसले नेतृत्व पाउने बेला एमाले अध्यक्ष ओलीले हिक्मतकुमार कार्कीलाई हटाएर एमालेकै अर्का नेतालाई मुख्यमन्त्री बनाउनुपर्ने सर्त राखेपछि विवाद बढेको थियो ।
स्रोतका अनुसार ओली वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई फेरेर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहन्छन् । तर, एमाले महासचिव शङ्कर पोखरेललगायतका नेताहरू भने कार्कीकै निरन्तरताको पक्षमा छन् । ‘अध्यक्ष ओलीले हिक्मत कार्कीलाई रोक्नकै लागि नेकपालाई नेतृत्व सुम्पिने सम्भावना पनि छ,’एमालेका एक केन्द्रीय सदस्यले भने,’एमालेको पहिलो प्राथमिकता आफ्नै नेतृत्व हो, तर व्यक्तिको हकमा भने फरक मत छ ।’
सरकारबाट बाहिरिने तयारीमा कांग्रेस
यता, सत्ता साझेदार दल नेपाली कांग्रेस भने सरकारबाट बाहिरिने मनस्थितिमा पुगेको छ । एमाले र नेकपाबीचको नयाँ समीकरण तय भएसँगै कांग्रेसले प्रतिपक्षमा बस्ने तयारी गरेको हो ।
कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले केन्द्रको निर्देशन पर्खिरहेको जानकारी दिए । ‘केन्द्रको निर्देशनका कारण मन्त्रीहरूको राजीनामा केही समय रोकिएको हो,’ तामाङले भने, ‘अब १-२ दिनभित्रै सरकारबाट बाहिरिने विषयमा औपचारिक निर्णय हुन्छ ।’

























