
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (बिहीबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानमै रहेको छ । अहिले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ ।
लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा पनि बदली छ भने मधेश प्रदेश र लुम्बिनीको तराई क्षेत्रमा आंशिक बदली देखिएको छ । कोशी, बागमती र कर्णालीका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ भने उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने बताइएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा मधेश र सुदूरपश्चिमका तराईका थोरै क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ । महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।
रातको समयमा पनि देशभर बदली रहने अनुमान गरिएको छ । हिमाली क्षेत्रका थोरै स्थान तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्ता मौसमीय अवस्थाले कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रभाव पार्न सक्ने भएकाले पछिल्ला मौसम सम्बन्धी सूचना नियमित रूपमा हेर्नसमेत अनुरोध गरिएको छ ।

























