
काठमाडौं । नेपालका कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज (बिहीबार) देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सहित विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले पुष्पलालको योगदानको स्मरण गर्दै विचार गोष्ठी, श्रद्धाञ्जली सभा र अन्य कार्यक्रम आयोजना गर्दैछन् । विक्रम संवत १९८१ असार १५ गते रामेछापमा जन्मिएका श्रेष्ठ नेपालका पहिलो संगठित कम्युनिस्ट नेतामध्ये एक मानिन्छन् ।
पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोरा रहेका उनी सहिद गंगालाल श्रेष्ठका भाइ पनि हुन् । उनले लामो समय प्रवासमा बसेर नेपाली कम्युनिस्ट आन्दोलनलाई संगठित र विस्तार गर्ने काम गरेका थिए ।
कम्युनिस्ट आन्दोलनका अग्रदूत पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए । साथै, उनका विभिन्न लेख तथा कृतिहरूले नेपाली समाजको वर्गीय विश्लेषण र राजनीतिक चेतनाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको मानिन्छ ।
विक्रम संवत २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने कार्यमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । त्यसअघि विक्रम संवत १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज लगायतसँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरी राणाशासनविरुद्ध राजनीतिक गतिविधि अघि बढाएका थिए ।
उनले नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिहरूसँग सहकार्य गरेर संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था अन्त्य गर्नुपर्ने धारणा पनि अघि सारेका थिए । २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो । उनको स्मृतिमा बिहीबार एमालेको काठमाडौं उपत्यका प्रदेश कमिटीसहित विभिन्न कम्युनिस्ट दल तथा संगठनहरूले श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दैछन् ।

























