श्रम संस्कृतिले भन्यो, ‘धरानका डीएसपीविरुद्ध उजुरी गरिएको छैन’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ७, बिहीबार १८:०६

विराटनगर । प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई) नेतृत्वको श्रम संस्कृति पार्टीले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी भीषणबाबु राईविरुद्ध हेलो सरकारमा कुनै पनि उजुरी दर्ता नगरिएको स्पष्ट पारेको छ ।

पार्टीका प्रवक्ता सत्य गुरुडद्वारा जारी प्रेस विज्ञप्तिमा सञ्चारमाध्यममा श्रम संस्कृति पार्टीले डीएसपी राईविरुद्ध हेलो सरकारमा उजुरी दिएको भन्ने समाचार प्रकाशित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले डीएसपी राईविरुद्ध हेलो सरकारमा कुनै पनि उजुरी दर्ता नगरेको स्पष्ट गर्दै आफ्नो नाम जोडिएको समाचार तथ्यपरक नभएको दाबी विज्ञप्तिमार्फत गरेको हो ।

Advertisement

सम्बन्धित समाचारमा श्रम संस्कृति पार्टीको आधिकारिक धारणा नलिई समाचार प्रकाशित गरिएको भन्दै पार्टीले औपचारिक रूपमा खण्डन गरेको छ । पार्टीले प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता तथा जिम्मेवार पत्रकारिताको सिद्धान्तअनुसार सम्बन्धित पक्षको आधिकारिक धारणा लिएर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्नुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमार्फत श्रम संस्कृति पार्टीले सम्बन्धित सञ्चारमाध्यमलाई समाचारमा आवश्यक तथ्यगत सच्याइ गरी पार्टीको आधिकारिक धारणा समावेश गर्न तथा भविष्यमा पार्टीसँग सम्बन्धित कुनै पनि समाचार प्रकाशन वा प्रसारण गर्नुअघि आधिकारिक धारणा लिएर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ ।

धरानका डीएसपी भीषणबाबु राईविरुद्ध हेलो सरकारमा दुईवटा उजुरी परेका छन् । दुवै उजुरी बेनामे भए पनि तीमध्ये एउटा उजुरीमा श्रम संस्कृति पार्टीको नाम जोडिएको छ । दुवै उजुरी असार २० गते दर्ता भएका हुन् ।

उजुरीमा श्रम संस्कृतिको नाम जोडिएपछि त्यस विषयमा पार्टीका केन्द्रीय सदस्य सुमन श्रेष्ठको प्रतिक्रिया लिइएको थियो । तर, उनले पनि पार्टीका तर्फबाट डीएसपी राईविरुद्ध हेलो सरकारमा कुनै उजुरी नगरिएको बताएका छन् । श्रेष्ठले धरानमा डीएसपी राईले राम्रो हिसाबले काम गरिरहेका कारण कतै पनि उजुरी गर्न आवश्यक नभएको बताए ।

बेनामे उजुरीमा भने डीएसपी राईमाथि अवैध रूपमा रकम असुलेको तथा लागुऔषधको धन्दा र अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूसँग मिलेमतो गरेको आरोप लगाइएको थियो । उजुरीमा धरान क्षेत्रमा हुने जुवा, तास, लागुऔषध ओसारपसार तथा अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा रकम उठाउने काम भइरहेको दाबी गरिएको थियो ।

राईविरुद्धको उजुरीमाथि प्रहरीकै माथिल्लो कार्यालयले छानबिन एवं अनुसन्धान अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालयलाई छानबिन गर्न निर्देशन दिएको थियो । प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई छानबिन एवं अनुसन्धान गर्न निर्देशन दिँदै कारबाहीका बारेमा सात दिनभित्र जानकारी गराउन भनेको छ ।

यस्तो थियो यसअघि प्रकाशित समाचार

धरानका डीएसपीविरुद्ध हेलो सरकारमा दुईवटा उजुरी, पैसा असुलेको आरोप

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×