
काठमाडौं । सरकारले विभिन्न १३ देशका लागि नयाँ राजदूत नियुक्त गर्न नसक्दा कार्यकाल सकिन लागेका ६ जना राजदूतको पदावधि थपेर काम चलाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भदौमा कार्यकाल सकिन लागेका परराष्ट्र सेवा समूहका ६ राजदूतको म्याद थप्ने निर्णय गरेको हो ।
सरकारले नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको भए पनि अन्तिम निर्णय भने हुन सकेको छैन । परराष्ट्र मन्त्रालयले सिफारिस गरेका नामहरू केही सातादेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रोकिएको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले कुमार खरेल, भृगु ढुंगेल, गणेश ढकाल, दिलीप पौडेल र विष्णु गौतमलगायतको नाम राजदूतका लागि सिफारिस गरेको थियो । तर, नयाँ नियुक्ति अघि नबढाई सरकारले बंगलादेशका घनश्याम भण्डारी, ब्राजिलका निर्मलराज काफ्ले, अस्ट्रियाका भरतराज रेग्मी, म्यानमारका हरिश्चन्द्र घिमिरे, बहाराइनका तीर्थराज वाग्ले र इजिप्टका सुशील लम्सालको कार्यकाल थपेको छ ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरू प्रधानमन्त्री कार्यालय र मन्त्रालयबीच आवश्यक समन्वयको अभाव रहेको बताउँछन् । मन्त्रालयको सिफारिस रोकिएपछि परराष्ट्र सेवाका कर्मचारीसमेत असन्तुष्ट बनेका छन् । उनीहरूका अनुसार कार्यकाल सकिन लागेका राजदूतको ठाउँमा नयाँ नियुक्ति गर्ने तयारी भए पनि त्यसलाई रोकिएको छ ।
हाल १७ वटा दूतावासमध्ये ४ वटा खारेज भइसकेका छन् भने १३ वटा दूतावासमा राजदूत नियुक्त हुन बाँकी छ । ती पदका लागि सरकारले जेठ १४ गते आवेदन मागेको थियो । चार हजारभन्दा बढी आवेदन परेकामध्ये परराष्ट्र मन्त्रालयले प्रारम्भिक छनोट गरी सूची प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ । तर, दुई महिना बितिसक्दा पनि नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन ।
राजदूत छनोटका लागि स्पष्ट मापदण्डसमेत तयार नभएको अवस्थामा सरकारले पुराना राजदूतको कार्यकाल थपेको निर्णयले नयाँ नियुक्ति अझै लम्बिन सक्ने अनुमान गरिएको छ ।

























