
विराटनगर । आफ्नै पेटमा सिसा प्रहार गरेर गम्भीर घाइते बनेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा बसेका थिए । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साउन २ गते बिहान करिब ६ बजेतिर अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए ।
सिसाले आफ्नै पेटमा प्रहार गरेर आफूलाई गम्भीर घाइते बनाएका राजेन्द्रको उपचारका क्रममा शुक्रबार साँझ ७ बजेतिर मृत्यु भएको डीएसपी मिश्रले बताए । उनका अनुसार आफैंलाई सिसाले प्रहार गरेर घाइते बनेका राजेन्द्रलाई उपचारका लागि गोल्डेन अस्पतालमै भर्ना गरिएको थियो ।
मृत्युपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । आमाको उपचारका लागि अस्पताल बसेका राजेन्द्रले आफैंलाई आक्रमण गर्नुपर्ने कारण प्रष्ट हुन नसकेको र घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए । घटनाको विस्तृत अनुसन्धानपछि मात्रै वास्तविक कारण पत्ता लाग्ने उनको भनाइ छ ।

























