बालकको मृत्युपछि तनाव : स्वास्थ्य केन्द्रमा तोडफोड, सडक अवरुद्ध

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ९, शनिबार १४:२२

सिराहा । सिराहाको भगवानपुर गाउँपालिकामा सर्पदंशबाट बिरामी परेका एक बालकको उपचारमा ढिलाइ हुँदा मृत्यु भएको भन्दै स्थानीयले प्राथमिक स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।

मृतक सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डल हुन् । उनलाई सर्पले टोकेपछि भगवानपुर गाउँपालिका–४ कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएको थियो । तर, समयमै थप उपचारका लागि रेफर नगरेको र एम्बुलेन्स उपलब्ध गराउन नसकेको आरोप स्थानीय तथा आफन्तले लगाएका छन् ।

Advertisement

आफन्तका अनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि बालकलाई समयमा अस्पताल लैजान नसकिएको र उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् । उनीहरूले हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेपछि त्यस क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ ।

स्थानीयका अनुसार बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा उपस्थित नभएपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बढ्दो तनावपछि घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । सिरहा प्रहरीका डीएसपी रमेशबहादुर पालले स्थिति नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको जानकारी दिए । बालकको मृत्युको वास्तविक कारण, उपचार प्रक्रियामा भएको ढिलाइ तथा एम्बुलेन्स सञ्चालनसम्बन्धी आरोपका बारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×