
झापा । झापाको कनकाई नगरपालिका–५ टेक्रास्थित भित्री कच्ची सडकमा इलेक्ट्रिक स्कुटरको ठक्करबाट पैदलयात्री तीन जना महिला घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति करिब ८ः५० बजेतिर मनकामना टोलबाट डाँडागाउँतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७ प ७२७७ नम्बरको इलेक्ट्रिक स्कुटरले पैदल हिँडिरहेका तीन जना महिलालाई एकैपटक ठक्कर दिएको हो । दुर्घटनामा कनकाई नगरपालिका–५ की ५९ वर्षीया जिना न्यौपाने गम्भीर घाइते भएकी छन् । बाहिरी चोट नदेखिए पनि उनलाई भित्री चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, दुर्घटनामा कनकाई–५ की ४० वर्षीया विमला न्यौपानेको र ५५ वर्षीया लीलादेवी भुर्तेल घाइते भएका छन् । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई तत्काल कनकाई नगर अस्पताल सुरुंगामा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बिर्तामोडको बी एन्ड सी अस्पताल रेफर गरिएको छ ।
दुर्घटनामा संलग्न स्कुटर र चालक कनकाई–५ का २२ वर्षीय रोहन ओलीलाई इलाका प्रहरी कार्यालय सुरुंगाले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार चालकसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नभएको खुलेको छ । लाइसेन्स बिना स्कटुर चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























