इबोला महामारी नियन्त्रणभन्दा बाहिर, १० हप्तामै १,३०० भन्दा बढीको मृत्यु

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार ०८:४२
कंगोमा इबोला तीव्र रूपमा फैलँदै, १ सय जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीले भयावह रूप लिएको छ । १० हप्ताभन्दा कम अवधिमा १ हजार ३ सय जनाभन्दा बढीको मृत्यु भएपछि जनस्वास्थ्य विज्ञहरूले अवस्थालाई अत्यन्त चिन्ताजनक भन्दै तत्काल विश्वव्यापी सहयोगको आवश्यकता औँल्याएका छन् ।

सरकारले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार इबोलाबाट संक्रमित हुनेको कुल संख्या २ हजार ९ सय ७३ पुगेको छ । यसमध्ये १ हजार ३ सय ९ जनाको मृत्यु भइसकेको हो । अघिल्लो साताको तुलनामा संक्रमितको संख्या २७ प्रतिशतले बढेको थियो ।

Advertisement

यसपटक फैलिएको भाइरस ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भएकाले चुनौती अझ गम्भीर बनेको विज्ञहरूको भनाइ छ । मानिसमा असर गर्ने इबोलाका चार प्रकारमध्ये यो सबैभन्दा दुर्लभ मानिन्छ । हालसम्म यसका लागि प्रभावकारी खोप वा स्वीकृत उपचार उपलब्ध छैन ।

अफ्रिकी युनियनअन्तर्गतको अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (अफ्रिका सीडीसी)का जनस्वास्थ्य परामर्शदाता अब्दुलसलामी नासिदीले प्रमाणित खोपको अभावका कारण भाइरस डढेलोझैँ फैलिरहेको बताएका छन् । उनका अनुसार महामारी सक्रिय द्वन्द्वग्रस्त क्षेत्रमा फैलिएकाले स्वास्थ्य सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न झन् कठिन भएको छ ।

यता वैज्ञानिकहरू भने सम्भावित खोप विकासमा जुटिरहेका छन् । अक्सफोर्ड विश्वविद्यालयको ‘अक्सफोर्ड भ्याक्सिन ग्रुप’ले विकास गरिरहेको प्रयोगात्मक खोपको पहिलो मात्रा शुक्रबार एक स्वयंसेवकलाई दिइएको छ । टोलीकी प्रमुख अनुसन्धानकर्ता क्याट्रिना पोलकले यसलाई ‘बुन्डिबुग्यो’ इबोलाविरुद्धको खोप विकासतर्फको महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छन् ।

इबोलाको इतिहासमा सबैभन्दा घातक महामारी सन् २०१३ देखि २०१६ सम्म पश्चिम अफ्रिकाका गिनी, लाइबेरिया र सियरा लियोनमा फैलिएको थियो । उक्त महामारीमा २८ हजारभन्दा बढी संक्रमितमध्ये ११ हजारभन्दा बढीको मृत्यु भएको थियो । त्यसबेला पहिलो १ हजार जनाको मृत्यु हुन करिब आठ महिना लागेको थियो ।

तर, कंगोमा अहिले फैलिएको महामारीले १० हप्ताभन्दा कम समयमै १ हजार ३ सयभन्दा बढीको ज्यान लिइसकेको छ । यही कारण स्वास्थ्य विज्ञहरूले यसलाई इबोलाको इतिहासकै सबैभन्दा तीव्र गतिमा फैलिएको प्रकोपका रूपमा लिन थालेका छन् ।

अफ्रिका सीडीसीका महानिर्देशक जीन कासेयाले पनि महामारी नियन्त्रणका लागि तत्काल अन्तर्राष्ट्रिय पहल आवश्यक रहेको बताएका छन् । उनका अनुसार अहिले नै प्रभावकारी कदम चाल्न नसके विश्वले अहिलेसम्मकै सबैभन्दा गम्भीर इबोला महामारीको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×