सिंगो गाउँ पहिरोको जोखिममा, विस्थापित हुन थाले स्थानीय

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १०, आइतबार १८:०१

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–५ को लुमाङदिन बस्तीमा आइतबार बिहानदेखि जान थालेको पहिरोले सिंगो गाउँ नै जोखिममा पारेको छ । बस्तीको पुछारबाट जमिन चिरिँदै पहिरो अघि बढेपछि स्थानीय विस्थापित हुन थालेका छन् ।

पहिरोले बस्तीको पुछार मात्र नभएर स्थानीयको दैनिकी र भविष्य नै बगाउने संकेत देखिएपछि लुमाङदिन गाउँमा त्रास फैलिएको छ । केही घण्टामै चार परिवार घर छाड्न बाध्य भएका छन् । अन्य परिवार दिनभर कसरी बिताउने भन्ने चिन्तामा छन् ।

Advertisement

स्थानीयका अनुसार बिहान ८ बजेबाट सुरु भएको पहिरोले हालसम्म चार परिवार विस्थापित भइसकेका छन् । निरन्तर पहिरो खसिरहँदा ३५ परिवार उच्च जोखिममा परेका छन् । पहिरोले बस्तीको तल्लो भाग तान्न थालेपछि घर वरिपरिका जमिनमा समेत ठुल्ठूला धाँजा फाटेका छन् । पहिरोले घरहरू कुनै पनि बेला क्षतिग्रस्त हुन सक्ने सम्भावना बढेको छ ।

पहिरोका कारण स्थानीय गणेशप्रसाद लिम्बू, विक्रम साम्बा, विष्णु साम्बा र चन्द्रप्रसाद साम्बाको घरमा क्षति पुगेको छ । घरमा क्षति पुग्न थालेपछि थातथलो छाड्न बाध्य बनेका चारै परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष भरत खपांगीले बताए । विस्थापित परिवारलाई तत्कालका लागि आफन्तको घरमा राखिएको छ ।

वडाध्यक्ष खपांगीका अनुसार पहिरो नरोकिएकाले थप परिवारलाई पनि स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसका लागि नजिकै रहेको सिद्ध आधारभूत विद्यालयलाई अस्थायी आश्रयस्थलका रूपमा तयारी गरिएको उनले बताए ।

निरन्तर वर्षा भइरहेकाले पहिरो थप फैलिने जोखिम कायम रहेको उनले बताए । बस्तीका अधिकांश स्थानमा जमिन चर्किएको र नयाँ-नयाँ धाँजा देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरे पनि धेरै परिवार घर छाड्नुपर्ने अवस्थाले चिन्तित छन् ।

प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले चार परिवार विस्थापित भएको तथा थप घरहरू जोखिममा रहेको पुष्टि गरे । प्रभावित क्षेत्रमा सञ्चार सम्पर्कसमेत प्रभावित भएकाले क्षतिको विस्तृत विवरण संकलन गर्न कठिनाइ भइरहेको उनले बताए ।

यसअघि पनि फालेलुङ गाउँपालिका–२ का आठ परिवार र वडा नम्बर ३ का एक परिवार पहिरोका कारण विस्थापित भइसकेका छन् । लगातारको वर्षाले ठाउँ-ठाउँमा सडक अवरुद्ध भएपछि फालेलुङ गाउँपालिका बाहिरी सम्पर्कबाट समेत प्रभावित बनेको छ । सडक अवरुद्ध हुँदा उद्धार, राहत र अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको प्रजिअ दाहालले बताए ।

जिल्ला प्रशासनले मौसममा तत्काल सुधार नआएसम्म पहिरो प्रभावित तथा आसपासका बस्तीका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय र प्रशासनले प्रभावित क्षेत्रमा निगरानी बढाइरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×