कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी

मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८३ श्रावण ११, सोमबार १३:२१

विराटनगर । सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको साम्प्रदायिक झडप र त्यसक्रममा सशस्त्र प्रहरीको गोली लागेर एक युवाको मृत्यु भएको घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ– यति संवेदनशील जिल्ला नेतृत्वविहीन अवस्थामा किन सञ्चालन भइरहेको थियो ?

घटनाको समीक्षा गर्दा देखिने सबैभन्दा महत्वपूर्ण पक्ष सुरक्षा संयन्त्रमा देखिएको नेतृत्वको अभाव हो । सीमावर्ती र उच्च सुरक्षा जोखिमका रूपमा चिनिने सुनसरीमा सशस्त्र प्रहरीका कमान्डर दुई सातादेखि रिक्त थियो । त्यति मात्र नभएर नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी बिदामा थिए भने कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी पनि बिदामा रहेकाले प्रदेशको सुरक्षा नेतृत्वसमेत निमित्त अधिकारीमार्फत सञ्चालन भइरहेको थियो ।

Advertisement

सुरक्षा विज्ञहरूका अनुसार यस्तो परिस्थितिमा आकस्मिक संकट व्यवस्थापन स्वाभाविक रूपमा प्रभावित हुन्छ । गृहमन्त्री सुधन गुरुङको निर्देशनपछि गत असार ३० गते सुनसरीस्थित सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति एवं सशस्त्र प्रहरी बलका सुनसरी प्रमुख, एसपी श्यामकुमार कार्कीलाई मुख्यालय तानियो ।

तर, उनको स्थानमा नयाँ गणपति खटाइएन । झापाबाट तानिएका सशस्त्रका एसपी अम्बिकाप्रसाद जोशीको स्थान पनि हालसम्म रिक्त नै छ । यसरी दुई सीमावर्ती जिल्लाको सशस्त्र प्रहरी नेतृत्व लामो समयसम्म खाली रहनुले गृह प्रशासनको निर्णय प्रक्रियामाथि प्रश्न उठेको छ ।

सुरक्षा स्रोतका अनुसार गृहमन्त्री र सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलबीच सरुवासम्बन्धी मतभेदका कारण कार्यकाल सकिएका आठवटा गणका गणपतिको सरुवा रोकिएको छ । त्यसको असर प्रत्यक्ष रूपमा फिल्ड कमान्डमा परेको सुरक्षा अधिकारीहरूको भनाइ छ । यद्यपि, यसका बारेमा गृह मन्त्रालयले आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

सुनसरीजस्तो भारतसँग खुला सीमा जोडिएको जिल्लामा तस्करी, लागुऔषध कारोबार, सीमापार अपराध तथा बेला–बेलामा देखिने साम्प्रदायिक संवेदनशीलता नयाँ विषय होइन । यस्ता जिल्लामा गणपति प्रशासनिक प्रमुख मात्र नभएर उनी सुरक्षा रणनीतिको केन्द्रबिन्दु हुन्छन् । दैनिक जोखिम मूल्यांकन, गुप्त सूचना विश्लेषण, अतिरिक्त फौज परिचालन, स्थानीय प्रशासनसँग समन्वय, भिड नियन्त्रणको रणनीति तथा बल प्रयोग गर्नुपर्ने अवस्था आए त्यसको कमान्ड तहको निर्णय उनीहरूको जिम्मेवारीभित्र पर्छ ।

नेपाल प्रहरीतर्फ पनि अवस्था सहज थिएन । सुनसरीका प्रहरी प्रमुख एसपी केशवकुमार थेवे बिदामा रहेका कारण डीएसपी चन्द्रबहादुर खड्काले निमित्त प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेकाले प्रदेशको सुरक्षा कमान्ड एसएसपी योगेन्द्रसिंह थापाले सम्हालिरहेका छन् ।

कोशी प्रदेश सुरक्षा संवेदनशीलताका दृष्टिले नेपालकै सबैभन्दा संवेदनशीलमध्ये एक मानिन्छ । १४ जिल्ला रहेको यस प्रदेशमा भारतसँग लामो खुला सीमा छ । सुनसरी, मोरङ र झापाजस्ता जिल्लामा सीमापार अपराध, लागुऔषध तस्करी, अन्तरदेशीय आपराधिक गतिविधि तथा सामाजिक एवं साम्प्रदायिक संवेदनशीलता निरन्तर सुरक्षा चुनौतीका रूपमा रहेका छन् । यस्तो प्रदेशमा प्रदेश प्रहरी प्रमुख, जिल्ला प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुख तीनै तहमा नियमित नेतृत्वको अभाव देखिनु सुरक्षा व्यवस्थापनका दृष्टिले अस्वाभाविक अवस्था भएको सुरक्षा क्षेत्रका जानकारहरू बताउँछन् ।

सुरक्षा विश्लेषकहरूका अनुसार कुनै पनि विवाद सुरु हुनेबित्तिकै प्रभावकारी कमान्ड सक्रिय भएमा स्थानीय जनप्रतिनिधि, धार्मिक अगुवा, प्रशासन र सुरक्षा निकायबीच समन्वय गरेर तनाव फैलिन नदिन सकिन्छ । आवश्यक सुरक्षाकर्मी समयमै परिचालन गर्न सकिन्छ । भिड नियन्त्रणका वैकल्पिक उपाय प्रयोग गर्न सकिन्छ । परिस्थिति नियन्त्रणबाहिर जानुअघि नै जोखिम कम गर्न सकिन्छ । तर, नेतृत्व कमजोर वा रिक्त हुँदा निर्णय ढिलो हुने, समन्वय कमजोर हुने र अन्तिम विकल्पका रूपमा घातक बल प्रयोगसम्म पुग्ने जोखिम बढ्ने उनीहरूको विश्लेषण छ ।

आइतबार राति बोलबम यात्राका क्रममा बजाइएको डिजेलाई लिएर सुरु भएको सामान्य विवाद विस्तारै दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत भयो । दुवै पक्षबाट ढुंगा, लाठी, चिर्पट र भालासहित आक्रमण हुनुका साथै सुरक्षाकर्मीमाथि पनि आक्रमण भयो । हालसम्मको विवरण अनुसार इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्स्पेक्टर राकेश राईसहित आठ जना नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएका छन् । तत्काल अवस्था नियन्त्रणमा नआएपछि सशस्त्र प्रहरीले गोली चलाउँदा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको सुरक्षा स्रोतले बतायो । प्रहरीका अनुसार गोली प्रहारबाट ९ जना सर्वसाधारण घाइते भएका छन् ।

घटनापछि मात्रै विभिन्न सुरक्षा निकायबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरियो । नेपाली सेना पनि परिचालित छ । देवानगञ्ज र हरिनगरका केही क्षेत्रमा कर्फ्यु आदेश जारी गरियो । कोशी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी योगेन्द्रसिंह थापाले कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सुरक्षा सक्रियता बढाइको जानकारी दिए । सुरक्षा व्यवस्था थप कडा पारिएको र प्रशासनले वार्तामार्फत समाधान खोजिरहेको जानकारी थापाले दिए ।

अधिकारीहरुका अनुसार कप्तानगन्ज घटनाले गोली चलाउने निर्णयको मात्र समीक्षा मागेको छैन । संवेदनशील जिल्ला लामो समयसम्म सशस्त्र प्रहरीको कमान्डरविहीन किन रह्यो ? जिल्ला प्रहरी प्रमुख र प्रदेश प्रहरी प्रमुख बिदामा रहेका बेला वैकल्पिक सुरक्षा रणनीति कति प्रभावकारी थियो ? गृह प्रशासनले समयमै नेतृत्व व्यवस्थापन किन गर्न सकेन ? जस्ता प्रश्नहरुको जवाफ खोज्नुपर्ने अवस्था आएको उनीहरुको विश्लेषण छ ।

उनीहरुका अनुसार सुरक्षा संयन्त्रमा नेतृत्वको रिक्तता सामान्य प्रशासनिक विषय होइन भन्ने सन्देश कप्तानगन्ज गोलीकाण्डले दिएको छ । विशेषगरी कोशीजस्तो संवेदनशील प्रदेशमा कमान्ड कमजोर हुँदा त्यसको असर सिधै शान्ति सुरक्षा, संकट व्यवस्थापन र सर्वसाधारणको जीवनमा पर्ने नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटवालले बताए । घटनाको छानबिन गोली चलेको क्षणमा मात्र सीमित नभई सुरक्षा नेतृत्व, कमान्ड संरचना, समन्वय र गृह प्रशासनको निर्णय प्रक्रियासम्म पुग्नुपर्ने आवश्यकता देखिएको कटवालको भनाइ छ ।

तपाइको प्रतिक्रिया
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
मोरङमा बालिकामाथि सामूहिक करणी, ५ जना पक्राउ
नागढुंगा-सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन
कप्तानगन्ज गोलीकाण्ड : सुरक्षा कमान्डरविहीन थियो सुनसरी
संयम बनौं, सामाजिक र धार्मिक सद्भाव कायम राखौं
सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक आह्वान
डा. केसी र सरकारबीच पुनः वार्ता सुरु, २ विषयमा अझै जुटेन सहमति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×