
विराटनगर । सुनसरीको देवानगन्जमा लामो समयदेखि सुल्झिन नसकेको एउटा स्थानीय विवाद अन्ततः हिंसात्मक झडपमा परिणत हुँदा एक जनाको ज्यान गएको छ भने नौ जना सर्वसाधारणसहित २२ जनाभन्दा बढी घाइते भएका छन् ।
घटनापछि सुनसरीका विभिन्न क्षेत्रमा तनाव फैलिएको छ । प्रदर्शन, आगजनी, तोडफोड र सडक अवरोधका बीच सरकारले प्रमुख जिल्ला अधिकारीदेखि प्रदेश प्रहरी प्रमुखसम्मलाई हटाउँदै घटनाको छानबिन सुरु गरेको छ । तर, बिदामा रहेका सुरक्षा अधिकारीको जिम्मेवारी खोसिनु आश्चर्यको विषय बनेको छ ।
घटनाको पृष्ठभूमि हेर्दा देवानगन्ज र हरिनगर गाउँपालिका क्षेत्रमा पछिल्ला केही महिनादेखि धार्मिक विषयलाई लिएर पटक–पटक सामान्य विवाद हुँदै आएको थियो । स्थानीय तह, राजनीतिक नेतृत्व र सुरक्षा निकायले तत्कालीन रूपमा सहमति गराएर विवाद समाधान गरे पनि मूल समस्या भने समाधान हुन सकेन ।
यसपटकको विवाद देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा मुस्लिम समुदायले मोहरम पर्वका बेला राखेको झन्डा हटाउने विषयबाट सुरु भएको स्थानीय बताउँछन् । पर्व सकिएको एक महिना बितिसक्दा पनि झन्डा नहटाइएकाले अर्को पक्षले हटाउन आग्रह गर्दै आएको थियो । एक साताअघि यही विषयमा विवाद बढेपछि कुरा गाउँपालिका अध्यक्ष बेचनकुमार मेहतासम्म पुगेको थियो ।
अध्यक्षले पनि झन्डा हटाउन सुझाव दिएका थिए । स्थानीयका अनुसार सुरक्षा निकायलाई समेत विवादका बारेमा जानकारी थियो । तर, सम्भावित जोखिमलाई गम्भीर रूपमा लिइएन ।
आइतबार साँझ बोलबम यात्राको तयारीस्वरूप डिजेसहित भजन–कीर्तनको तयारी भइरहेको बेला राति करिब ९ बजे अर्को समूहका केही व्यक्ति आएर डिजेको आवाजले असहज भएको भन्दै विरोध जनाए । त्यसपछि दुई पक्षबीच विवाद चर्कियो ।
स्थानीय र जनप्रतिनिधिका अनुसार झडप सुरु हुनुअघि नै कप्तानगन्ज बजार क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो । सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य लालबिक्रम थापाले विद्युत् कटौतीलाई सामान्य संयोग मान्न नसकिने भन्दै यसका बारेमा पनि छानबिन हुनुपर्ने बताएका छन् । उनका अनुसार करिब दुई घण्टापछि मात्रै विद्युत् आपूर्ति पुनः सञ्चालन भएको थियो ।
विवाद बढेपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरी पुगेपछि एउटा समूह त्यहाँबाट हटे पनि अर्को समूहसँग प्रहरीको विवाद भएको प्रत्यक्षदर्शीहरूको भनाइ छ । त्यसपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । अवस्था नियन्त्रणबाहिर जान थालेपछि थप मद्दतका लागि सशस्त्र प्रहरी परिचालन गरियो ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार प्रदर्शनकारीले सशस्त्र प्रहरीलाई घेरा हालेर ढुंगामुढा गरेपछि हवाई फायर गरिएको थियो । प्रहरीको प्रारम्भिक विवरणअनुसार नेपाल प्रहरीले तीन राउण्ड तथा सशस्त्र प्रहरीले २२ राउण्ड गरी कुल २५ राउण्ड गोली चलाएको थियो ।
तर, हवाई फायर गरिएको सरकारी दाबीमाथि प्रश्न उठेको छ । घाइते भएका अधिकांश व्यक्तिको शरीरको कम्मरमाथि गोली लागेको छ । उपचारका क्रममा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ । उनको पेटमाथि गोली लागेको थियो ।
गोली लागेर घाइते भएका जयप्रकाश मेहता, मिथलेश मेहता, अमलेश मेहता, अमित यादव, रवीन्द्र मेहता, अमितकुमार यादव, सुनीलकुमार मेहता र अर्का सुनील मेहतासहित अन्य घाइतेहरूको शरीरको पेट, ढाड, घाँटी, कम्मरमाथि र हातमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ ।
घाइते मिथलेश मेहताका पिता दिलिप मेहताले प्रहरीको बल प्रयोगमाथि प्रश्न उठाएका छन् । उनका अनुसार झन्डा हटाउने विषयमा दुई पक्षबीच विवाद भए पनि एउटा समूह हटिसकेपछि प्रहरीले अर्को समूहलाई लक्षित गरेर गोली चलाएको देखिएको छ । उनले सुरुमा लाठीचार्ज वा अन्य सामान्य बल प्रयोग नगरी सिधै गोली चलेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य थापाले पनि भिड नियन्त्रणका क्रममा सामान्य प्रक्रिया पालना नगरिएको आरोप लगाएका छन् । उनका अनुसार सुरुमा सम्झाउने, त्यसपछि आवश्यक परे लाठीचार्ज र अश्रुग्यास प्रयोग गर्नुपर्ने भए पनि एकैपटक गोली चलाइनु गम्भीर सुरक्षा कमजोरी हो । उनले घटनामा जिम्मेवार सुरक्षाकर्मीमाथि कारबाहीको माग गरेका छन् ।
स्थानीय बुधनारायण यादवका अनुसार मोहरमका लागि गाउँपालिकाले उपलब्ध गराएको स्थानमा राखिएको झन्डा हटाउने विषय नै विवादको मुख्य कारण बनेको थियो । यो विषय गाउँपालिका अध्यक्षसम्म पुगे पनि समाधान हुन नसक्दा अन्ततः ठूलो घटनामा परिणत भएको उनको भनाइ छ ।
घटनाले अर्को गम्भीर पक्ष पनि उजागर गरेको छ । भारतसँग खुला सीमा जोडिएको संवेदनशील जिल्ला सुनसरीमा घटना हुँदा जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै नेतृत्वविहीन अवस्थामा थिए ।
सशस्त्र प्रहरी बल नम्बर ४ गण इनरुवाका गणपति तथा सुनसरीका सशस्त्र प्रहरी प्रमुख एसपी श्यामकुमार कार्कीलाई असार ३० गते मुख्यालय फिर्ता बोलाइएको थियो । उनको स्थानमा नयाँ प्रमुख खटाइएको थिएन ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवे साउन ८ गतेदेखि बिदामा थिए । निमित्त प्रहरी प्रमुखको जिम्मेवारी डीएसपी चन्द्रबहादुर खड्काले सम्हालिरहेका थिए । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरे पनि बिदामा रहेको अवस्थामा घटना भएको हो ।
झडपमा इलाका प्रहरी कार्यालय देवानगन्जका इन्स्पेक्टर राकेश राईसहित आठ जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी घाइते भएका छन् । घटनापछि सोमबार दिनभर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन चर्कियो । प्रदर्शनकारीले घर, पसल र सवारीसाधनमा आगजनी तथा तोडफोड गरे । सडकमा हिँडिरहेका यात्रुमाथिसमेत कुटपिट भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगञ्ज तथा देवानगन्ज बजार क्षेत्रमा सोमबार बिहानदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शनकारी सडकमा उत्रिएका थिए । विभिन्न स्थानमा सडक अवरुद्ध गरिएको थियो । प्रहरीका अनुसार नेपाली सेना परिचालन गरिएपछि कप्तानगन्जको अवस्था क्रमशः सामान्य बन्दै गएको छ ।
घटनाको छानबिनका लागि गृहमन्त्रालयले समिति गठन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगले संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग अपिल गरेको छ । जिल्लाका नागरिक अगुवाले पनि हिंसा रोक्न आग्रह गरेका छन् ।
घटनापछि सरकारले प्रशासन र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ ।
त्यसैगरी, कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ भने उनको स्थानमा डीआईजी शेखर खनाललाई जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ । उनको स्थानमा एसपी पुष्पराज मल्ललाई पठाइएको छ ।
स्थानीय स्तरमा समयमै समाधान हुन सक्ने एउटा विवाद प्रशासनिक बेवास्ता, सुरक्षा संयन्त्रको तयारी अभाव र बल प्रयोगको प्रश्नसँग जोडिँदै अहिले साम्प्रदायिक तनावमा परिणत भएको छ । अब छानबिन समितिको निष्कर्षले गोली चलाउने निर्णय, सुरक्षा तयारीको अवस्था र घटनापूर्वका कमजोरीका बारेमा स्पष्ट चित्र सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

























