
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (मंगलबार) पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानकै आसपास र पश्चिमी भू–भागमा सरदरभन्दा केही उत्तरतर्फ रहेकाले वर्षा गराउने प्रणाली अझ सक्रिय बनेको हो ।
यसको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली भएको छ । अहिले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र मधेश प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो हिमाली र पहाडी भू–भागका अधिकांश स्थानमा बदली रहनेछ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहनेछ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईमा भने आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ ।
हिमाली क्षेत्रका केही स्थान र पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेश प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाले लुम्बिनी, सुदूरपश्चिम, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यी प्रदेशका पहाडी तथा केही तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास, पहिरोको जोखिम भएका क्षेत्र र डुबान हुने स्थानमा आवश्यक सावधानी अपनाउनुपर्ने जनाएको छ ।
राति पनि मौसम पूर्ण रूपमा सुधार हुने सम्भावना नरहेको महाशाखाको भनाइ छ । राति हिमाली र पहाडी भू–भागका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
रातको समयमा हिमाली क्षेत्रका थोरै स्थान र पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ । यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानमा पनि चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा रातको समयमा पनि भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।



















