सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार ०९:४९

सुनसरी । सुनसरीको देवानगन्ज गाउँपालिका–३ स्थित कप्तानगन्जमा भएको घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न संवेदनशील क्षेत्रमा जारी कर्फ्यू आदेशलाई यथावत् राखेको छ ।

यद्यपि, सर्वसाधारणको आवागमनलाई सहज बनाउन पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा लगाइएको कर्फ्यू भने हटाइएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगन्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।

Advertisement

यसैबीच, सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै देवानगन्ज र हरिनगर गाउँपालिकाका प्रमुख बजार क्षेत्रमा अर्को आदेश जारी नभएसम्मका लागि अनिश्चितकालीन कर्फ्यू कायम राखिएको प्रशासनले जनाएको छ । प्रशासनका अनुसार हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज बजार क्षेत्र कर्फ्यूको दायरामा रहेका छन् ।

हरिनगरा बजार क्षेत्रमा पूर्वमा नुनिया टोल, पश्चिममा पश्चिम खुनिया धार, उत्तरमा हरिनगर गाउँपालिका कार्यालय र दक्षिणमा वसन्तपुर मोडसम्म कर्फ्यू लागू गरिएको छ । भुटाहा बजार क्षेत्रमा पूर्वमा मोरिया धार खोला, पश्चिममा ईदगाहा फिल्ड, उत्तरमा सुनसरी खोला र दक्षिणमा हरिनगर गाउँपालिका कार्यालयसम्म कर्फ्यू कायम छ ।

कप्तानगन्ज बजार क्षेत्रमा पूर्वमा यादव टोल, पश्चिममा पाँचौँ सिमल माध्यमिक विद्यालय, उत्तरमा कृष्ण माध्यमिक विद्यालय र दक्षिणमा नेपाल–भारत सीमा क्षेत्रसम्म कर्फ्यू लागू गरिएको छ । घुस्की बजार क्षेत्रमा पूर्वमा कासमिया मदरसा, पश्चिममा प्रहरी चौकी घुस्की, उत्तरमा इशा हार्डवेयर र दक्षिणमा हिलाल पब्लिक स्कुलसम्म कर्फ्यू आदेश जारी छ ।

देवानगन्ज बजार क्षेत्रमा पूर्वमा विराटनगर जाने सडकस्थित मुसहर टोल, पश्चिममा मोरिया खोला र उत्तरमा चिउरा मिलसम्म कर्फ्यू कायम राखिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले तोकिएका क्षेत्रमा शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्थामा प्रतिकूल असर पुग्ने कुनै पनि भेला, जुलुस, प्रदर्शन वा अन्य गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

साथै, जारी गरिएको निषेधाज्ञा र कर्फ्यू आदेशको पूर्ण रूपमा पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ । यसअघि कर्फ्यू हटाइएको भनेर हल्ला भएपछि सर्वसाधारणमा अन्योलता बढेको भन्दै प्रशासनले सूचना जारी गरेर कर्फ्यू कायमै रहेको जनाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×