देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन

मुलुकी खबर
पवन भण्डारी
clock२०८३ श्रावण १२, मंगलबार १२:५२

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार कोशी प्रदेशका विभिन्न जिल्ला र मधेश प्रदेशको सिरहासम्म आन्दोलन चर्किएको छ ।

विराटनगरमा बजार बन्द गराउँदै प्रदर्शन गरिएको छ । सुनसरीमा सडकमा टायर बालेर प्रदर्शन गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । सिरहामा पनि राजमार्ग बन्द गरी विरोध प्रदर्शन गरिएको छ ।

Advertisement

विराटनगरमा आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायतका मुख्य बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरेका थिए । जसका कारण बजारको जनजीवन आंशिक रूपमा प्रभावित भएको थियो । प्रदर्शन पुनः हनुमान मन्दिरमै पुगेर सम्पन्न भएको थियो ।

आन्दोलनरत पक्षले विराटनगरको बुधहाट चोकमा दिउँसो ४ बजे श्रद्धाञ्जली सभाको आयोजना गर्ने कार्यक्रम पनि तय गरेको छ । प्रदर्शन शान्तिपूर्ण भए पनि कुनै अप्रिय घटना हुन नदिन उल्लेख्य संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बजार क्षेत्र, प्रदर्शनस्थल तथा संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुनसरीमा मंगलबार पनि आन्दोलन जारी रहेको छ । प्रदर्शनकारीहरूले पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । सडक अवरोधका कारण यातायात सेवा प्रभावित भएको छ । स्थिति थप तनावपूर्ण हुन नदिन स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।

सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले हरिनगरा, भुटाहा, कप्तानगन्ज, घुस्की र देवानगन्ज क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू लागू भएका क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा आवतजावतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । तर, पनि प्रदर्शन रोकिएको छैन ।

प्रदर्शनकारीहरूले कप्तानगन्ज गोलीकाण्डमा संलग्न दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गर्दै न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । कप्तानगन्ज घटनाको प्रभाव सिरहासम्म पुगेको छ ।

सिरहाको गोलबजार नगरपालिका–८ पुरानो चोक चोहर्वामा स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, गोली चलाउनेमाथि कारबाही तथा प्रहरी दमन बन्द गर्नुपर्ने माग राखेका छन् । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत माग गरेका थिए ।

यसअघि सोमबार पनि सिरहाको कर्जन्हा नगरपालिका–बन्दीपुरस्थित पूर्व–पश्चिम राजमार्ग, गोलबजारको गोलपार्क तथा धनगढीमाई नगरपालिका–८ कसहा चोकमा विरोध प्रदर्शन भएको थियो । सिरहा प्रहरीका अनुसार आन्दोलनकारीहरूले करिब आधा घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । प्रदर्शनकारीसँगको छलफलपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

गत आइतबार राति सुनसरीको देवानगन्ज–३ कप्तानगन्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सो घटनापछि सुनसरी, मोरङ, सप्तरी, सिरहा, पर्सालगायत विभिन्न जिल्लामा लगातार विरोध प्रदर्शन भइरहेका छन् ।

आन्दोलनकारीहरूले दोषीमाथि निष्पक्ष छानबिन र कानुनी कारबाहीको मागलाई थप सशक्त बनाएका छन् । आन्दोलनका नाममा आक्रमण, आगजनी, तोडफोड र कुटपिटका घटना पनि भएका थिए ।

तपाइको प्रतिक्रिया
देवानगन्ज घटनाको विरोधमा आगजनी र तोडफोड, आधा दर्जन बढी पसलमा क्षति
कप्तानगन्ज घटनाको असर : मोरङमा डिजे बजाउन प्रतिबन्ध
देवानगन्ज गोलीकाण्डको विरोध देशव्यापी बन्दै : विराटनगरमा बजार बन्द, सुनसरीमा राजमार्ग ठप्प, सिरहासम्म फैलियो आन्दोलन
ससुरालीमा श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान् पक्राउ
ससुरालीमा श्रीमतीको हत्या प्रयासकाे आरोपमा श्रीमान् पक्राउ
सुनको मूल्यमा घट्याे
सुनको मूल्यमा घट्याे
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
पकलीदेखि कोशी ब्यारेजसम्म सडक अवरुद्ध, इटहरीबाट पश्चिम जाने गाडी रोकिए
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुने नेपाली टोलीको बिदाइ
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
विराटनगरको एक कम्पनीसहित १२ निर्माण र आपूर्ति कम्पनी कालोसूचीमा (सूचीसहित)
सुनसरीका विभिन्न स्थानमा कर्फ्यू यथावत्
कप्तानगन्ज घटनापछि तीन पालिकाको शोक, बिदा र सद्भावको अपिल
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×