
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (बुधबार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानको आसपास र पश्चिम भू–भागमा सरदरभन्दा उत्तरतर्फ रहेकाले वर्षाको सम्भावना व्यापक देखिएको हो ।
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली छ । बागमतीका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा कोशी र मधेश प्रदेशका केही स्थानमा पनि बादल लाग्ने सम्भावना छ ।
हिमाली क्षेत्रका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । तराईका विभिन्न स्थानमा पनि चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ ।
विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली क्षेत्रका थोरै स्थान, पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा तथा सडक यात्रुले विशेष सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

























