
विराटनगर । सुनसरीको देवानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिको समीक्षा गर्दै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न कोशी प्रदेश सरकारले सर्वदलीय बैठक बोलाएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको आह्वानमा बुधबार दिउँसो १२ः३० बजे आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बैठक बस्ने भएको हो । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार उच्चस्तरीय बैठकमा सुरक्षा निकायका उच्च अधिकारी, सुनसरीबाट निर्वाचित प्रदेशसभा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहनेछ ।
बैठकमा सुनसरी घटनापछिको सुरक्षा अवस्थाको समीक्षा गर्दै प्रदेशमा शान्ति र सामाजिक सद्भाव कायम राख्ने उपाय, जनजीवनलाई सहज बनाउने रणनीति तथा प्रदेश सरकारको उपस्थितिलाई प्रभावकारी रूपमा नागरिकसम्म पुर्याउने विषयमा छलफल हुने जनाइएको छ । साथै, राजनीतिक दलहरूलाई पनि सामाजिक सद्भाव कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्ने तयारी गरिएको छ ।
यसअघि मुख्यमन्त्री कार्कीले भिडियो सन्देशमार्फत सबै नागरिकलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र सामाजिक सद्भाव जोगाउन आग्रह गरिसकेका छन् । प्रदेश सरकारका मन्त्रीहरू र सचिवहरू पनि घाइतेहरूको उपचार र अवस्थाका बारेमा जानकारी लिन अस्पताल पुगेका थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार घटनाको सुरुदेखि नै मुख्यमन्त्री कार्कीले सुरक्षा निकायसँग निरन्तर समन्वय गर्दै परिस्थिति सामान्य बनाउन र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल गर्दै आएका छन् । प्रदेशको उच्चस्तरीय एवं सर्वदलीय बैठकलाई प्रदेशमा शान्ति स्थापना र सबै पक्षबीच साझा समझदारी निर्माण गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।

























