
काठमाडौं । सुनसरीमा भएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले संयुक्त अपिल जारी गरेको छ । सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन सर्वदलीय आग्रह छ ।
बैठकपछि जारी अपिलमा पछिल्ला घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । दलहरूले लोकतन्त्रमा देखिएका असन्तुष्टि र समस्या शान्तिपूर्ण संवाद तथा सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएका छन् । साथै प्रदेश, जिल्ला र स्थानीय तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरमा विश्वासको वातावरण बनाउन सम्बन्धित पार्टी समितिलाई निर्देशन दिने उल्लेख गरिएको छ ।
संयुक्त अपिलमा सामाजिक सञ्जालमा भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाह नफैलाउन तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ । दलहरूले नागरिकको जिउधनको रक्षा राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
अपिलमा राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको जनाउँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
यस्तो छ अपिलको पूर्णपाठ



























