झापामा कारले ठक्कर दिँदा र करेन्ट लाग्दा दुई वृद्धाको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १३, बुधबार १३:०३

भद्रपुर । झापाको भद्रपुरमा कारले ठक्कर दिँदा र हात्तीलाई लक्षित गरेर लगाइएको बिजुलीको नांगो तारबाट करेन्ट लाग्दा दुई जना वृद्धाको मृत्यु भएको छ ।

जिल्ला प्रशासन कार्यालय झापाबाट काम सकेर निस्किँदै गरेकी एक जना वृद्धाको भद्रपुरमा कारको ठक्करबाट मृत्यु भएको छ । बुधबार बिहान भद्रपुर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालय नजिक भित्री सडकमा भएको दुर्घटनामा ९२ वर्षीया धनमाया खड्काको ज्यान गएको हो ।

Advertisement

प्रहरीका अनुसार कारागार कार्यालय झापाबाट जिल्ला प्रशासन कार्यालयतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च ०००५ नम्बरको सेतो रङको कारले प्रशासन कार्यालयको काम सकेर सडकतर्फ निस्किँदै गरेकी खड्कालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी खड्कालाई कार चालकले तत्काल उपचारका लागि ओमसाई पाथीभरा अस्पताल पुर्‍याएका थिए ।

अस्पतालमा चिकित्सकले बिहान ११ः३० बजे उनलाई मृत घोषणा गरेका हुन् । दुर्घटनालगत्तै प्रहरीले कार चालक बुद्धशान्ति गाउँपालिका–२ का ४६ वर्षीय मदन प्रसाईंलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, भद्रपुर नगरपालिका–४ स्थित एग्रो कार्यालय छेउ मायालु वन क्षेत्रमा करेन्ट लागेर ६५ वर्षीया सन ज्योती लिम्बूको मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै बारीमा हात्ती धपाउनका लागि लगाइएको नांगो तारमा छोइएपछि गम्भीर घाइते भएर लडिरहेको अवस्थामा लिम्बूलाई उनकी बुहारी सविता खड्काले देखेकी थिइन् ।

प्रहरी घटनास्थल पुग्दा लिम्बूको मृत्यु भइसकेको थियो । शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×