
काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत बिरामीको निधनपछि उत्पन्न परिस्थिति र चिकित्सकहरूमाथि भएको कुटपिटको घटनाप्रति नेकपा (एमाले) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
घटनाविरुद्ध चिकित्सकहरूले ओपीडी सेवा ठप्प पार्दा नागरिकहरू स्वास्थ्य सेवा पाउने संवैधानिक एवम् मौलिक अधिकारबाट वञ्चित हुन पुगेको एमालेले उल्लेख गरेको छ। एमालेले उक्त घटनालाई गम्भीर, संवेदनशील र चिन्ताजनक भन्दै यस्तो परिस्थितिमा पनि सरकार उदासीन र गैरजिम्मेवार बनेको आरोप लगाएको छ।
एमाले महासचिव शंकर पोखरेलले बुधबार जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्यजस्तो संवेदनशील विषयमा सरकारले देखाएको चरम उदासीनताप्रति खेद व्यक्त गरिएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पेसागत एवम् शारीरिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको स्मरण गराउँदै एमालेले कार्यस्थलमा बिना कुनै भय र त्रास सेवा दिने वातावरण तुरुन्त निर्माण गर्न सरकारसँग माग गरेको छ।

























