देवानगन्ज गोलीकाण्डका घाइतेहरू : कहाँ भइरहेको छ उपचार, कसको अवस्था कस्तो ?

Share this
742shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ साउन १३, बुधबार १८:३७
अस्पताल पुगेर उपचाररत घाइतेलाई भेट्दै स्वास्थ्यमन्त्री निशा मेहता ।

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाउनुपर्यो ।

घटनामा देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो भने गोली लागेर नौ जना युवा घाइते भए । उनीहरूको विराटनगरस्थित न्युरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।

गोली लागेर गम्भीर घाइते भएका ओमप्रकाशलाई आइतबार राति उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याइएको थियो । तर, अस्पताल पुगेलगत्तै १०ः४० बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

हाल न्युरो अस्पतालमा गोली लागेकामध्ये चार जना घाइते उपचाररत छन् । देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । उनको शल्यक्रिया गरेर गोली निकालिएको छ । हाल आईसीयूमा उपचाररत उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।

देवानगन्ज–४ का २२ वर्षीय हरेराम यादवको दुवै तिघ्राको बीच भाग (काप)मा गोली लागेको थियो । शल्यक्रिया सम्पन्न भइसकेका उनको अवस्था सामान्य छ । देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको बायाँ पिठ्युँमा गोली लागेको थियो । शल्यक्रिया सम्पन्न भइसकेका उनले पनि अवस्था सामान्य रहेको छ ।

देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चार जना विराट नर्सिङ होममा उपचाररत छन् । देवानगन्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको बायाँ तिघ्रामा गोली लागेर नसामा गम्भीर चोट पुगेको थियो । नसाको शल्यक्रिया सम्पन्न भए पनि अवस्था गम्भीर रहेकाले उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहताको बायाँ घुँडामुनिको पछाडिको भागमा गोली लागेको छ । उनको अवस्था सामान्य रहेको छ । देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादवको कम्मरको अगाडिबाट गोली लागेर पछाडिबाट निस्किएको थियो । शल्यक्रिया सम्पन्न भइसकेका उनको अवस्था सामान्य छ ।

देवानगन्ज–४ का २६ वर्षीय सुनील मेहताको बायाँ हातको कुहिनामा गोली लागेको छ । उनको अवस्था सामान्य रहे पनि शल्यक्रिया हुन बाँकी रहेको अस्पतालले जनाएको छ । विराट नर्सिङ होममा उपचाररत चार जनामध्ये तीन जनाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने एक जनाको शल्यक्रिया हुन बाँकी छ ।

नोबेल शिक्षण अस्पतालमा देवानगन्ज–३ का १८ वर्षीय अमित यादव उपचाररत छन् । उनको बायाँ हात र कोखामा गोली लागेको थियो । शल्यक्रिया गरेर गोली निकालिएको छ । अवस्था गम्भीर रहेकाले उनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

घटनापछि सुनसरीका विभिन्न स्थानमा आगजनी, तोडफोड, लुटपाट तथा व्यक्ति लक्षित आक्रमणका घटना भएका थिए । सोमबार र मंगलबार जिल्लाका विभिन्न क्षेत्र तनावग्रस्त बनेका थिए । बुधबारबाट अवस्था केही मत्थर भएको छ ।

स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शन तथा हिंसात्मक गतिविधि रोकिएको थिएन । अवस्था पूर्णरूपमा सामान्य बन्न केही समय लाग्ने बताइएको छ । लगातारको आगजनी, तोडफोड र आक्रमणका घटनाले जनजीवन प्रभावित बनेको थियो भने सर्वसाधारण त्रासपूर्ण वातावरणमा बस्न बाध्य भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.