
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीको कप्तानगन्जमा भएको दुःखद घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक वासना थापाले कप्तानगञ्जमा भएको झडप र प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको ज्यान गएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन्। दर्जनौँ नागरिक घाइते भएको उक्त घटनाले शान्ति सुरक्षा कायम गर्न सरकार असफल भएको पुष्टि गरेको उनले बताइन्।
नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै थापाले यसको निष्पक्ष र विश्वसनीय छानबिन गरी सदनमा जवाफ दिन सरकारसँग माग गरिन्।
काठमाडौँ महानगरका मेयर छँदा बालेन शाहले विगतमा गरेको टिप्पणी स्मरण गराउँदै उनले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि कडा प्रश्न उठाइन्। हिजो आक्रोश पोख्ने प्रधानमन्त्री र सदनमा आँसु झार्ने गृहमन्त्री आज मौन बसेको आरोप लगाउँदै उनले सरकारको मौनताले नागरिकमा असुरक्षा बढाएको बताइन्।
थापाले सङ्कटका बेला राष्ट्रको मनोबल सम्हाल्नु र नागरिकको अभिभावक बन्नु नै सच्चा नेतृत्व भएको उल्लेख गरिन्। साथै, उनले नेपालीपन र सह-अस्तित्व नै मुख्य पहिचान भएकाले साम्प्रदायिक सद्भाव कायम राख्न र सामाजिक एकता नभड्काउन सबै पक्षसँग अपिल पनि गरिन्।

























